२०८२ लाई हरियालीले स्वागतः कारोबारमा आयो रौनक, यसरी हुन सक्छ मार्केटमा बुल !

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२ को प्रारम्भसँगै शेयर बजारमा सुधार देखिएको छ । बैशाख २ गते वर्षको पहिलो कारोबार दिन बजार हरियालीमा खुलेको छ । अघिल्लो वर्षको अन्तिम दिन चैत ३१ गते बजार घटेर बन्द भएको थियो । चैत महिनाको अन्त्यतिर बैंकको साँवा–ब्याज तिर्ने, कर भुक्तानी गर्नेजस्ता आर्थिक दबाब समाप्त भएसँगै बजारमा सकारात्मक संकेत देखिन थालेको हो ।
लगानीकर्ताहरुको नजर अहिले बजारको समग्र ट्रेन्डमा केन्द्रित छ । लामो समयदेखि नेप्से परिसूचक २५ सयदेखि २८ सयको दायरा वरपर घुमिरहेको छ । बजारले खासै तल ओर्लन नखोजेको र माथि जान पनि नसेकेको अवस्था रहेपनि, लगानीकर्ताहरुले समग्र बजारलाई साइडवेजको अवस्थामा ठानेका छन् । यद्यपि, हालको प्रवृत्तिमा बजारको आधार बलियो देखिएको र चाँडै नै नयाँ उचाइ लिने विश्वास उनीहरु राख्छन् ।
हाल बैंक ब्याजदर अत्यन्त न्यून विन्दुमा झरेको छ । यसले निक्षेपकर्ताहरुलाई शेयर बजारतिर आकर्षित गरेको छ । साथै, वित्तीय प्रणालीमा तरलता प्रशस्त भएकाले बैंकहरुले शेयर धितो कर्जालाई प्राथमिकता दिएका छन् । यसले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुलाई सस्तो ब्याजमा कर्जा लिएर बजार प्रवेश गर्न सहज बनाइदिएको छ । फलस्वरूप बजारमा सेयरको माग उच्च बनेको देखिन्छ ।
बजारमा अझै सस्तो मूल्यमा कारोबार भइरहेको सबल कम्पनीका सेयरले लगानीकर्ताको ध्यान खिचिरहेका छन् । लाभांश क्षमता राम्रो भएका र वित्तीय सूचक बलिया कम्पनीमा लगानी गर्दा दीर्घकालीन फाइदा लिन सकिने सम्भावना छ । साथै, यस्ता कम्पनीका सेयर धितो राखेर बैंकबाट सजिलै कर्जा लिन सकिने भएकाले बजारमा उनीहरुको माग अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अकंले बढेर २६८८.६३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज व्यापार समूहको शेयर मूल्यमा मात्रै ओरालो लागेको छ । आज २१२ कम्पनीको शेयर मूल्य बढ्दा ३४ कम्पनीको घटेको छ ।