‘एमआरपी’ बिना सामान बेच्ने आनन्द ट्रेडर्सलाई २ लाख जरिवाना

काठमाडौँ । उपभोक्ता हित संरक्षणलाई प्राथमिकता दिँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न व्यवसायिक संस्थामाथि अनुगमनलाई तीव्र बनाएको छ। यही सिलसिलामा विभागले आइतबार ७ वटा उद्योग तथा फर्ममा निरीक्षण गरेको छ।
अनुगमनका क्रममा काठमाडौं–२२ स्थित आनन्द ट्रेडर्सले बिक्री गरेका सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको पाइएपछि विभागले सो फर्मलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २(क) अनुसार कारबाही गरिएको हो। साथसाथै, आनन्द ट्रेडर्सलाई आगामी दिनमा एमआरपीसहितको लेबल राखी मात्र सामान बिक्री गर्न निर्देशन दिइएको छ।
यसै क्रममा विभागले बूढानीलकण्ठस्थित ‘ट्रियु फार्मेसिया’ र ‘द स्किन फार्मेसी’ले बिक्री गर्दै आएको कस्मेटिक्स तथा न्युट्रास्युटिकल्स उत्पादनहरूको बिक्री प्रक्रियामा अनियमितता देखिएपछि ती सामग्रीहरूको बिक्री रोक्का गरेको छ।
त्यस्तै, अनुगमनमा परेका आरके सुज कलेक्सनलाई विभागले सुधारको लागि सामान्य निर्देशन दिएको छ भने, मधुगंगा इन्टरप्राइजेज, मित्रलाल पौडेल र सजिलो रेन्टललाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन सूचित गरिएको छ।
दैनिक उपभोग्य वस्तु तथा सेवामा उपभोक्ताको हकहित सुनिश्चित गर्न विभागले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।