राष्ट्र बैंकको गभर्नरसम्बन्धी छलफल अब ‘विचौलियाको क्यान्डिडेट’ केन्द्रित : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान आर्थिक समस्याको जड विचौलियाहरू भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको शयनकक्षसम्म विचौलियाहरूको पहुँच भएको भन्दै नेतृत्व तहमै उनीहरूको प्रभाव बढेको बताएका छन्।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निजी क्षेत्र र विचौलियालाई छुट्याएर बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो। विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो।’
उनले अघिल्लो समय राष्ट्र बैंकको गभर्नर को बन्ला भन्ने कौतुहलता हुने गरेको स्मरण गराउँदै अहिले चाहिँ ‘विचौलियाको क्यान्डिडेट’ भनेर खुलेआम छलफल हुने अवस्था देखिएकोप्रति चिन्ता व्यक्त गरे। थापाले भने, ‘पहिला गभर्नर यसले बनाउला कि त्यसले बनाउला भन्ने चर्चा हुन्थ्यो। अब त विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुल्ला बहस हुन्छ।’
महामन्त्री थापाले देशमा आसेपासेलाई पोस्ने प्रवृत्ति हावी भइरहेको उल्लेख गर्दै त्यो पुँजीवादी व्यवस्थाको मर्म विपरीत रहेको बताए। ‘नागरिक बलियो भएमात्रै राज्य बलियो हुन्छ’ उनले भने, ‘फोहोरी राजनीतिको अङ्ग बन्न हामी क्रियाशील भएका होइनौं, हामी त त्यो फोहोर सफा गर्न पोखरीमा पसेका हौं।’
फोहोर सफा गर्न पोखरीमा छिर्दा कहिलेकाहीँ बाहिरबाट हेर्दा आफूहरू पनि फोहोर देखिन सक्ने स्वीकार गर्दै उनले त्यसलाई गलत अर्थ नलगाउन आग्रह गरे। ‘हामी फोहोरमा मिसिएका होइनौं, फोहोर सफा गर्न गएका हौं थापाको भनाइ थियो।
सरकार गठनमा संलग्न दुई ठूला दलहरूले संविधान संशोधनदेखि विकास निर्माणमा गति दिने अपेक्षा गरिए पनि त्यो अनुसार काम नभएको उनको भनाइ थियो। थापाले सरकारले जनताको अपेक्षा अनुसार गति लिन नसकेको टिप्पणी पनि गरे।