प्राधिकरणले भन्यो ‘प्रतिकूल मौसमका कारण विद्युत् अवरोध, लोडसेडिङको होइन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालैको प्रतिकूल मौसमका कारण केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको स्पष्ट पारेको छ ।
देशभर हावाहुरी र प्रि-मन्सुनका कारण विद्युत आपूर्तिमा समस्या देखिएपछि सामाजिक सञ्जालमा ‘लोडसेडिङ’ भएको भन्ने भनाइहरू फैलिएका छन् । ती भनाइप्रति प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणका अनुसार खराब मौसमका कारण अवरुद्ध भएको सेवा पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रमार्फत रातदिन खटिएर अधिकांश स्थानमा विद्युत आपूर्ति यथाशिघ्र बहाल गरिएको छ । यद्यपि, अझै कतिपय स्थानमा सेवा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति क्षमा मागिएको छ ।
प्राधिकरणले विद्युतीय संरचनामा क्षति पुग्न सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ । पोल ढल्ने, तार लत्रिने लगायतका अवस्थाबाट जनधनको क्षति हुन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।
यस्ता घटनाबारे नजिकको विद्युत कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन समेत आग्रह गरिएको छ ।