वायुसेवा निगमका भ्रष्टाचारी चतुर्वेदीको यस्तो कन्तबिजोग, उमेरमा भ्रष्टाचार, बुढेसकालमा जेल, सम्पत्ति जफत

काठमाडौं । जनताबाट उठाएको करमा हेराफेरी गर्ने, भ्रष्टाचार गर्नेहरुले एक दिन कन्तबिजोग भोग्नुपर्दछ भन्ने उदाहरण नेपाल वायु सेवा निगममा भ्रष्टाचार गरेका रामाप्रसाद चतुर्वेदीको जीवन र मृत्युपर्यन्त उनको नाममा गरिएका कारवाहीलाई हेरे पुग्छ ।
बहुदलीय प्रजातन्त्र कालका चर्चित भ्रष्टाचारी भनेर चिनिएका बीरगन्ज सिर्सिया स्थायी घर भएका रामाज्ञा प्रसाद चतुर्वेदीको निधन २०७८ साल असोज २१ गते घटस्थापनाको दिन निर्माणाधिन घरको छतबाट हामफालेर आत्महत्या (परिवारका सदस्यहरुले भने कमजोरीका कारण आफू ढलेको भनेर दावी गरेको) मार्फत भयो ।
तत्कालिन नेशनल कन्स्ट्रक्सन कम्पनी लिमिटेडका पूर्व प्रबन्धक र नेपाल वायु सेवा निगमका महाप्रबन्धक चतुर्वेदीले उक्त दुई संस्थामा ब्रम्हलूट मच्चाएका थिए । उतिबेला नेपाल सद्भावना पार्टी र कांग्रेससँग मिलेर राजनीतिक सेटिङमा तत्कालिन शाही नेपाल वायु सेवा निगमलाई डुबाए, कमाए र रमाए । मिति २०५९ साल माघ २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चतुर्वेदीका विरुद्धमा छ करोड ९१ लाख ८२ हजार ५३५ रुपैयाँ भ्रष्टाचार गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गर्यो । २०५९ कार्तिक ८ गते पक्राउ परेपनि सेटिङमा छुटे ।
बिशेष अदालतले २०६१ माघ ८ गते चतुर्वेदीलाई दोषी ठहर गर्यो । अनि केही वर्ष अदालतमै सेटिङ हाने । पहिलो कमाउन लागि परेका चतुर्वेदीको जिन्दगी अब सेटिङमा बित्न थालेको थियो ।
उमेरले गल्दै गइरहेका थिए । मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो । सर्वोच्च अदालतले २०६८ साल भदौं २१ गते न्यायाधिश सुशिला कार्कीसहितको इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै आर्जित सम्पत्ति समेत जफत गरी राष्ट्रियकरण गर्नुपर्ने फैसला गर्यो । एक करोड ३९ लाख जरिवना, डेढ बर्ष कैद र सम्पत्ति जफतको फैसलाले चतुर्वेदी आफूलाई मात्रै नभई परिवारलाई समेत अप्ठेरोमा परिहेको थियो । उनलाई प्रहरीले पक्राउ गरी कारागार पठायो । कैद भुक्तान गरेर बाहिर निस्किए । जरिवना पनि तिरे ।
बीरगन्ज सिर्सिया बन्दरगाह नजिकै जन्मिएका चतुर्वेदीसँग काठमाडौंमा करोडौं रुपैयाँको सम्पत्ति थियो । तैपनि उनको मनमा अमन चयन, शान्ति भने थिएन । २०७८ सालको दशैंमा उनको परिवारमा बज्रपात पारेर धर्तीबाट बिदा भए ।
अहिले फेरी भ्रष्टाचारीको सम्पत्ति जफत गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । उनै भ्रष्टाचारी रामाज्ञाप्रसाद चतुर्वेदीको चल–अचल सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसलाबमोजिम गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले उक्त कारबाही गर्दै चर्तुवेदीको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका अनुसार अदालतको निर्णयअनुसार चतुर्वेदीको बैंक खातामा रहेको नगद, सेयर र जग्गा जफत गरिएको हो । नेपाल एसबीआई, नेपाल बैंक, हिमालयन, एभरेष्ट र कृषि विकास बैंकमा रहेका चतुर्वेदी र उनको परिवारका बैंक खाताबाट जम्मा रकम र ब्याजसहित जफत गरिएको छ । साथै, नेपाल मेडिकल कलेज, शिखर पेन्ट्स र ओम हस्पिटलमा रहेको परिवारको सेयरसमेत सरकारको नाममा ल्याइएको छ ।
चतुर्वेदीले भ्रष्टाचार गरी जोडेको सम्पत्ति मध्ये काठमाडौंको कोटेश्वरस्थित २ रोपनी ९ आना जग्गाको लालपुर्जा नेपाल सरकारको नाममा बनाईसकिएको विभागले जनाएको छ ।
यसरी भ्रष्टाचार गर्नेहरुको जीवन पर्यन्त पनि सरकारको कारवाहीमा परेका छन् । उनका परिवारका सदस्यहरुले समेत भविष्यमा प्रगति गर्न बाधा पर्ने गरी अप्ठेरो परेको छ । चतुर्वेदीले सकुन्जेल भ्रष्टाचार गरे । उमेरमा अन्य धेरै काम गरेर इमान्दारीको कमाई खाने उमेरमा सेटिङ, भ्रष्टाचार, लूटको स्वर्ग चलाए । उमेर गल्दै जाँदा जेल परे अनि निधन पश्चात सम्पत्ति जफतमा पारेर परिवारका सदस्यहरुलाई अप्ठेरोमा पारे ।
नेपालको नीति निर्माणमा नीतिगत भ्रष्टाचार गर्ने, मालपोत, विभाग मन्त्रालय, सार्वजनिक संस्थान र आर्थिक क्षेत्रमा नियमनकारी निकायमा बसेर भ्रष्टाचारजन्य कार्यमा संलग्नहरुले चतुर्वेदीको यो घटनाबाट केही पाठ सिक्ने पो हो कि ?