उत्साह र रौनकमा बित्यो पूँजीबजारको वर्षदिन, यस्तो देखियो २०८१ लाई फर्किएर हेर्दा

काठमाडौँ । समग्रमा २०८१ साल नेपाली शेयर बजारका लागि पुनरुत्थानको वर्ष बन्न सफल भएको छ। विगतका केही वर्षदेखि निराशाजनक उतारचढाव, कमजोर नियामक चासो, तथा अस्थिर राजनीतिक वातावरणको मार खेपिरहेको शेयर बजार २०८१ सालमा भने उल्लेखनीय सुधारको संकेतसहित अगाडि बढ्यो। यस वर्ष नेपाली शेयर बजारमा सूचक, कारोबार, तथा लगानीकर्ता मनोविज्ञान – सबै पक्षमा व्यापक उचाइ देखियो।
२०८१ सालको पहिलो कारोबारको दिन वैशाख २ गते नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.०० बिन्दुमा झरेर बजार खुलेको थियो। त्यसको ठीक एक वर्षपछि, चैत ३१ गतेको अन्तिम कारोबारमा नेप्से ८.६२ अंकले घटेपनि २६६२.०८ बिन्दुमा आएर बजार बन्द भयो। यति अन्तरालमा सूचक ६३६.७८ अंकले उक्लिएको हो, जुन साना–ठूला सबै लगानीकर्ताका लागि ठूलो उपलब्धिको संकेत हो।
२०८० सालको अन्तिम दिन अर्थात् चैत्र २८ गतेको बजार २०२५.३० बिन्दुमा बन्द भएको थियो। त्यसको तुलनामा २०८१ सालमा शेयर बजारले उल्लेखनीय सुधार गरेको छ भन्ने स्पष्ट देखिन्छ। सूचकमा आएको यो वृद्धिले लगानीकर्तालाई निकै हौसला प्रदान गर्यो। धेरैले सोचेभन्दा छिटो बजार उक्लियो, जसको कारण राजनीतिक स्थायित्व र लगानीकर्ताको मनोबल थियो।
२०८१ असार अन्त्यमा नेपाली कांग्रेस, एमाले र अन्य केही दल मिलेर नयाँ गठबन्धन सरकार गठन गरे। यसमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीको रूपमा विष्णु पौडेलको आगमन भयो। विष्णु पौडेललाई लगानीकर्ताले शेयर बजारमैत्री नेताका रूपमा हेर्दै आएका थिए। उनले अघिल्लो कार्यकालमा पनि बजारमा सुधार ल्याउने प्रयास गरेका थिए, जसले गर्दा यसपटक फेरि अर्थमन्त्री बनेपछि लगानीकर्ता थप उत्साहित बने। नयाँ सरकार गठन भएको करिब डेढ महिनामा नै सेयर बजार झन्डै ९ सय अंकले बढ्यो । २०८१ साउन ३१ गते नेप्से ३००० बिन्दुसम्म पुग्यो भने ‘इन्ट्रा डे’ कारोबारमा ३ हजार ३६ बिन्दुसम्म पुग्यो ।
पौडेलको आगमनपछि बजारमा मनोवैज्ञानिक असर परेको देखियो। सूचकले छोटो समयमा नै ३००० नजिकको उचाइ छोयो। राजनीतिक स्थायित्वसँगै आर्थिक नीतिमा सकारात्मक अपेक्षा गरेकाले बजारमा लगानीकर्ताको उपस्थिति व्यापक रूपमा बढेको हो। बजार लामो समयदेखि १८–१९ सय बिन्दु वरिपरि अड्किरहेको थियो, तर मनोवैज्ञानिक कारणहरूले गर्दा बजारले गति लिन थाल्यो।
२०८१ सालमा धितोपत्र बोर्डको नेतृत्वमा सन्तोष नारायण श्रेष्ठ रहे। श्रेष्ठको कार्यशैली र नीतिगत चापले गर्दा बजारमा धेरै लामो समयदेखि अड्किएको आइपीओ, हकप्रद र एफपिओ प्रक्रिया अगाडि बढ्यो।रोकिएको धेरै कम्पनीको आवेदनलाई प्रक्रिया अघि बढाउँदै बोर्डले बजारमा नयाँ ऊर्जा भर्न सफल भयो।
शेयर बजारको समग्र प्रदर्शनमा बैंक ब्याजदरको भूमिका महत्त्वपूर्ण रहन्छ। विगतमा ब्याजदर उच्च हुँदा लगानीकर्ताले सेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण मान्दथे। तर २०८१ सालमा बैंक ब्याजदर एकल अंकमा झरेपछि बजारमा व्यापक तरलता देखियो। लगानीकर्ताले बैंकमा पैसा थुपार्नेभन्दा शेयर खरिदतर्फ झुकाव देखाए।
नेपाल राष्ट्र बैंकले केही कर्जासम्बन्धी सर्तमा लचिलो नीति अपनायो। यसले बैंकहरूलाई शेयर धितो कर्जामा राहत दिएर लगानीकर्ता आकर्षित गर्न सहयोग गर्यो। ब्याजदर घट्दा ऋण सस्तो बन्दा धेरैले शेयर बजारबाट प्रतिफल लिने सोच बनाए।
२०८१ सालमा नेपाली शेयर बजारले कारोबारको हिसाबले पनि नयाँ कीर्तिमान राख्यो। साउन ३१ गते एकै दिनमा ३० अर्ब रुपैयाँ बराबरको कारोबार भयो। यो अहिलेसम्मकै उच्च कारोबार हो। लगानीकर्ताको विश्वास र समग्र वातावरण सुधारले यस्तो उच्च कारोबार सम्भव भएको हो। त्यसयता बजारको कारोबार रकममा स्पष्ट गिरावट आएको छ, जुन अहिले ३ अर्ब २ करोड रुपैयाँसम्म झरेको छ। बढ्दो महँगी र लगानीमैत्री वातावरणको अभावले गर्दा बजारमा अपेक्षित लगानीको प्रवृत्ति देखिन सकेको छैन। यस अवस्थामा, विगतमा झन्डै ३० अर्बको कारोबार गरेको बजारलाई यो रेकर्ड तोड्न कति समय लाग्ने हो, भन्न कठिन भएको छ।
कारोबार रकम उच्च हुनुको अर्को कारण भनेको सूचकमा आएको वृद्धि हो। सूचक उच्च हुँदा उच्च मूल्यका सेयरहरू किनबेच धेरै हुन्छन्। जसले गर्दा समग्र कारोबार रकममा असर गर्छ।
यद्यपि बजारले सकारात्मक परिणाम दिएको भएपनि २०८१ साल केही कालो पाटीसहित समाप्त भएको छ। केही माफिया समूहले वित्तीय रूपमा कमजोर कम्पनीको सेयर मूल्यमा चलखेल गरेका घटना सार्वजनिक भए। खासगरी, साना लगानीकर्ताले मूल्य बढेको देखेर लगानी गरेपछि मूल्य एक्कासी घटाइदिने प्रवृत्तिले धेरैलाई घाटा बेहोर्न बाध्य बनायो।
यसले बजारमा पारदर्शितामाथि प्रश्न उठाएको छ। नियामक निकायको कमजोरी, कारबाहीको अभाव, र सूचनाको दुरुपयोग जस्ता पक्षले अझै पूँजी बजार पूर्ण सुरक्षित नभएको देखाएको छ। यस्तो प्रवृत्तिका कारण दीर्घकालीन र साना लगानीकर्ताको विश्वासमा चोट पुग्न सक्छ। त्यसैले, भविष्यमा यस्ता चलखेल नियन्त्रण गर्न नियामक निकाय, स्टक एक्सचेन्ज, तथा दलाल कम्पनीहरूबीचको समन्वय र कडाइ जरुरी देखिन्छ।
२०८१ साल समग्रमा शेयर बजारमा उत्साह, सुधार र मनग्य लाभको वर्ष रह्यो। राजनीतिक स्थायित्व, नीति परिवर्तन, ब्याजदर घट्ने र नियामकको सक्रियताले बजारमा नयाँ ऊर्जा भरेको हो। लगानीकर्ताले नाफा कमाउन मात्र सफल भएनन्, शेयर बजारप्रति विश्वास पनि पुनः निर्माण गर्न सके।
अब २०८२ सालतिर हेर्दा बजार अझ परिपक्व बन्दै जान आवश्यक छ। पारदर्शिता, नियम पालना, सूचनाको निष्पक्षता, र लगानीकर्ताको वित्तीय साक्षरतामा जोड दिन सकिएमा बजार दिगो विकासको बाटोतर्फ लम्कन सक्छ। साथै, आगामी दिनमा गभर्नरको नियुक्ति, मौद्रिक नीति तथा नियामक निर्णयले बजारको गतिलाई निर्धारण गर्नेछ। त्यसैले लगानीकर्ताहरू पनि ‘वेट एन्ड वाच’को अवस्थाबाट चेतनशील भएर दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने अवस्था छ।