घटेर बिदाइ भयो २०८१ सालको शेयर बजारः ६ अर्बको कारोबार, बैशाखमा देखिएला त उत्साह ?

३१ चैत्र २०८१, आईतवार १५:०४

काठमाडौँ । आर्थिक वर्ष २०८१ को अन्तिम दिन सेयर बजार ओरालो लाग्दै बिदाइ भएको छ। चैत ३१ गते, अर्थात् वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक ओरालो लाग्दै बन्द भएको हो। यो वर्षको पहिलो दिन वैशाख २ गते पनि बजार ओरालो लाग्दै खुलेको थियो। वर्षको प्रारम्भ र अन्त्य दुवै दिन सेयर बजारमा गिरावट देखिनु लगानीकर्ताका लागि निराशाजनक रह्यो।

हाल सेयर बजारमा घट्ने मुख्य कारणमध्ये लगानीकर्तामाथिको वित्तीय दबाबलाई प्रमुख रुपमा हेरिएको छ। वर्षको अन्त्यतिर बैंकको साँवा–ब्याज तिर्नुपर्ने चटारो हुन्छ। साथै, आयकर लगायतका अन्य कर तिर्नुपर्ने अवस्था आउँछ। यसले गर्दा धेरै लगानीकर्ताले शेयर बिक्री गर्नुपर्ने अवस्था आइपरेको देखिएको छ, जसको प्रत्यक्ष असर बजारमा देखिएको हो।

बजार विश्लेषकहरुका अनुसार, ‘मसान्तको दबाब’ सकिएपछि बजारमा केही सहजता आउने अपेक्षा गरिएको छ। अर्थात् नयाँ आर्थिक वर्ष वैशाखदेखि लगानीकर्तामा नयाँ ऊर्जा र उत्साह देखिने सम्भावना छ। बजारमा सकारात्मक सन्देश आउन थालेपछि सेयर कारोबारमा पनि क्रमशः सुधार आउने लगानीकर्ताको आशा छ।

यद्यपि, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै टुंगो लाग्न बाँकी रहेकोले केही लगानीकर्ता भने ’वेट एन्ड वाच’को मनस्थितिमा देखिएका छन्। गभर्नर नियुक्तिसँगै मौद्रिक नीति र वित्तीय प्रणालीप्रतिको स्पष्टता आउनु बजारका लागि सकारात्मक संकेत बन्न सक्ने अपेक्षा गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.८४ अकंले घटेर २६६१.८६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोढ ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ९ उपसूचक राताम्य हुँदा ४ उपसूचक मात्रै बढेका हुन् । ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*