नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी अफर: नगद छुट-एक्सचेन्जदेखि लखपति बन्ने मौका, कुन बाइक रोजे के फाइदा ?

३१ चैत्र २०८१, आईतवार १३:२७

काठमाडौँ । नयाँ वर्ष २०८२ लाई स्वागत गर्न नेपाली अटो बजारमा चहलपहल बढेको छ । दुई पाङ्ग्रे सवारीको बजारमा अझै विशेष सरगर्मी देखिन्छ, जहाँ मोटरसाइकल र स्कुटर बिक्री गर्ने कम्पनीहरूले विभिन्न किसिमका अफरहरूको वर्षा गरिरहेका छन् । यो समयलाई ’स्मार्ट किनमेलको सिजन’ भनेर समेत चिनिन थालिएको छ, जहाँ ग्राहकले छुट, बोनस, एक्सचेन्ज र फाइनान्सिङ सुविधा एउटै प्याकेजमा पाउँछन् ।

नयाँ मोडेलको बाइक वा स्कुटर किन्ने सोच बनाएका ग्राहकका लागि अहिले उपयुक्त मौका बनेको छ । कम्पनीहरूले ग्राहकको चासोलाई सम्बोधन गर्दै नगद छूट, पुरानो बाइक साट्ने सुविधा, बीमा र सडक दस्तुरको व्यवस्था लगायत आकर्षक प्याकेज सार्वजनिक गरेका छन् । यसले गर्दा शोरुमहरूमा ग्राहकको ओहोरदोहोर बढेको छ भने परीक्षण सवारीका लागि लाइन लाग्ने अवस्था देखिएको छ ।

युवापुस्ताको प्राथमिकतामा पर्ने स्टाइलिस स्कुटरदेखि एड्भेन्चर मोटरसाइकलसम्मका मोडलहरूमा कम्पनीहरूले ‘नयाँ वर्ष विशेष’ भन्दै छुटै र योजना प्रस्तुत गरिरहेका छन् । यही अवसरलाई सदुपयोग गर्दै धेरै ग्राहकहरू सवारी किन्न अघि बढिरहेका छन्, जसले अटो उद्योगलाई नयाँ वर्षको सुरुवातमै उत्साहजनक गति दिएको छ ।

नयाँ वर्षमा बजाजको ‘खुसीको मिटर’ अफर: गेम खेल्दै जित्न सकिने १ लाख रुपैयाँसम्म नगद

बजाज मोटरसाइकलका लागि नेपालमा आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ का अवसरमा निकै अनौठो र इन्टरेक्टिभ अफर सार्वजनिक गरेको छ । ’खुसीको मिटर’ नाम दिइएको यस अभियानमा डिजिटल रमाइलो र मोटरसाइकल किन्दाको अनुभवलाई एउटै फ्रेममा मिसाइएको छ । कम्पनीको भनाइअनुसार, यो अफरले टेक्नोलोजी र उपहारको मजा दुवै दिन्छ ।

यो क्याम्पेनको मुख्य आकर्षण भनेको गेमिङ हो, जसमा सहभागी भएर एक लाख रुपैयाँसम्म नगद जित्न सकिन्छ । मोबाइल वा कम्प्युटरमार्फत खेल्न मिल्ने यस गेमले भाग्य आजमाउने छुट्टै प्लेटफर्म तयार पारेको छ । सहभागी हुन चाहने व्यक्तिले कुनै पनि बजाज मोटरसाइकलको परीक्षण सवारी गर्नुपर्नेछ, त्यसपछि मात्रै उनीहरू उपहार जित्ने दौडमा सहभागी मानिनेछन् ।

शोरूमसम्म गएका ग्राहकका लागि अर्को चरणको गेम पनि तयार गरिएको छ, जहाँ स्क्रिनमा देखिएको ’खुसीको मिटर’ रोकेर प्रत्यक्ष रूपमा नगद पुरस्कार जित्न सकिनेछ । डिजिटल र फिजिकल अनुभव मिसाएर तयार पारिएको यो अफर हाल देशभरका सबै बजाज शोरूमहरू र बजाजका अनलाइन च्यानलहरूमा उपलब्ध गराइएको छ ।

टीभीएसको ‘नयाँ युगको सवारी’ अफर: १ लाखसम्म छुट, एक्सचेन्ज र सस्तो ब्याजमा फाइनान्स सुविधा

नयाँ वर्ष २०८२ को आगमनसँगै टीभीएस ब्रान्डले ग्राहकलाई लक्षित गर्दै ‘नयाँ युगको सवारी’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सार्वजनिक गरेको यो अफर अन्तर्गत टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल टीभीएसको नयाँ सवारीसँग सजिलै साट्न सक्नेछन् । कम्पनीले पुराना मोटरसाइकलमा उच्च मूल्याङ्कन गर्ने प्रतिवद्धता जनाएको छ, जसले नयाँ सवारी लिन चाहनेहरूलाई थप सहज बनाउने विश्वास लिइएको छ । साथै, ग्राहकले ७.९९ प्रतिशतको न्यून ब्याजदरमा फाइनान्स सुविधा पनि लिन सक्नेछन्, जसले खरिद प्रक्रियालाई अझ सरल बनाउनेछ ।

टीभीएसले सेवा सुविधालाई समेत प्राथमिकतामा राख्दै प्रत्येक सवारीमा लाइफटाइम वारेन्टी दिने जनाएको छ । साथै, पाट्सर्् आपूर्ति एक घण्टाभित्र नगरेको खण्डमा सो पाट्सर्् निःशुल्क उपलब्ध गराउने व्यवस्था, हेल्मेट उपहार, र भरपर्दो बिक्रीपछिको सेवा यो योजनाको थप विशेषता बनेका छन् । यस्तो अफरले नयाँ वर्षमा टीभीएस सवारी खरिद गर्न चाहनेहरूलाई आकर्षणको केन्द्र बनाइरहेको छ ।

हिरोको ‘नयाँ वर्ष नयाँ हिरो’ अफर: नगद छुट, हप्तोे लक्की ड्रमा २५ हजारसम्मको पुरस्कार

नयाँ वर्ष २०८२ को सुरुवातलाई विशेष बनाउने उद्देश्यले सीजी मोटर्सले हिरो मोटरसाइकल तथा स्कुटरमा नयाँ अफर सार्वजनिक गरेको छ । ‘नयाँ वर्ष नयाँ हिरो’ नाम दिइएको यस अभियानमार्फत ग्राहकले नगद छुटदेखि साप्ताहिक उपहारसम्मको फाइदा लिन सक्नेछन् । अफरअनुसार सवारी खरिद गर्दा सात हजार रुपैयाँको सीधा नगद छुट पाइनेछ भने हरेक हप्ता आयोजना हुने लक्की ड्रमार्फत २५ हजार रुपैयाँसम्म नगद जित्ने अवसर समेत खुला गरिएको छ ।

यस योजना अन्तर्गत मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने तर एकमुष्ट रकम तिर्न नसक्ने ग्राहकका लागि सहज वित्तीय सुविधा समेत उपलब्ध छ । कम्पनीले इजी फाइनान्समार्फत न्यून किस्तामा सवारी खरिद गर्न सकिने व्यवस्था मिलाएको छ, जसले गर्दा धेरैलाई बाइक किन्न सजिलो हुने विश्वास लिएको छ । किस्ता वन्दीको सजिलो प्रक्रिया र छरितो सेवा हिरोको अफरमा थप आकर्षण बनेको छ ।

नयाँ वर्षको सुरुवातमा ल्याइएको यो अफरले दुई पाङ्ग्रे सवारी खरिदमा सोच बनाइरहेका ग्राहकहरूलाई थप आकर्षित गर्ने देखिएको छ ।

सुजुकीको ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ अफर : ८ हजारदेखि १ लाखसम्म नगद जित्ने मौका

नयाँ वर्षको उमंगलाई थप रोमाञ्चक बनाउन सुजुकीले मोटरसाइकल तथा स्कुटर खरिदकर्ताहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले ‘नव वर्ष २०८२ जितौँ टन्न धनराशी’ नामक अफर ल्याएको हो, जसअनुसार ग्राहकले ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्न सक्नेछन् ।

उक्त योजनामा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सुजुकी सवारी खरिद गरेपछि ३५००१ मा एसएमएस पठाउनुपर्नेछ । एसएमएसको माध्यमबाट नै ग्राहकले आफ्नो भाग्य आजमाउने मौका पाउने छन्, जसमा संयोगले छानिएका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यस अफरअन्तर्गत पुरानो बाइक वा स्कुटर साटेर नयाँ सुजुकी सवारी लिन चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । कम्पनीले पुराना सवारीमा उचित मूल्याङ्कन गर्ने बताउँदै, सहज प्रक्रिया अपनाएर नयाँ बाइकमा रूपान्तरण गर्न सकिने वातावरण बनाएको छ ।

यामाहा नेपालको ‘थ्रिल अफ थ्री’ अफर: स्क्रिनसट देखाएर जित्न सकिने १ लाख रुपैयाँसम्मको नगद

नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै यामाहा नेपालले रोमाञ्चक अफर ‘थ्रिल अफ थ्री’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन सामाजिक सञ्जालमा सेयर गरेबापत ग्राहकले तत्काल १ हजार रुपैयाँ जित्न सक्ने व्यवस्था गरिएको छ । सहभागी बन्नका लागि, प्रयोगकर्ताले विज्ञापन सेयर गरी आफ्नो नजिकको यामाहा डिलरशिपमा गई स्क्रिनसट देखाउनु पर्नेछ ।

डिलरशिपमा स्क्रिनसट देखाउने सहभागीले ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् भने, योजनाको अवधिमा यामाहाको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद जित्न सक्ने अवसर समेत प्राप्त गर्नेछन् । यस अफरले यामाहाका ग्राहकलाई रमाइलो अनुभवसँगै आर्थिक फाइदा दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले सवारी खरिद प्रक्रिया अझ सहज बनाउँदै विभिन्न आकर्षक सुविधा पनि थपेको छ । स्पट एक्सचेन्ज सुविधा, सरल किस्तामा सवारी खरिद गर्न मिल्ने इजी फाइनान्स तथा छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ ।

सीएफमोटोको ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर: ५ वर्षको वारेन्टी र ५ प्रतिशत ब्याजदरमा फाइनान्स

नयाँ वर्ष २०८२ को अवसरमा सीएफमोटोका नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आकर्षक अफर ल्याएको छ । ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफरअन्तर्गत ग्राहकले एनके २५० मोडेलको मोटरसाइकल खरिद गर्दा ५ वर्षसम्मको वारेन्टी पाउनेछन् । यसका साथै, ५ प्रतिशत ब्याजदरमा २४ महिनाको सरल फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ, जसले ग्राहकलाई वित्तीय भार कम गर्न मद्दत पुर्याउँछ ।

अफरको अर्को विशेषता भनेको नगद र एक्सचेन्जमा १५ हजार रुपैयाँ छुट पाउनु हो । एनके २५० खरिद गर्ने ग्राहकलाई निःशुल्क फ्री–सेरामिक कोटिङको सुविधा पनि दिइनेछ, जसले बाइकको सुरक्षा र टिकाउपनमा थप योगदान पुर्याउँछ । यस अफरले ग्राहकलाई अझ सस्तो र सुविधाजनक तरिकामा उच्च गुणस्तरको मोटरसाइकलको अनुभव प्राप्त गर्न प्रोत्साहित गर्नेछ ।

भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ अफर : नगद छुट, कम ब्याजको EMI र उपहारको भरपूर प्याकेज

नयाँ वर्ष २०८२ को अवसरमा डेल्टा अटो कर्पले आफ्नो प्रिमियम स्कुटर ब्रान्डहरू भेस्पा र अप्रिलियालाई झनै आकर्षक बनाउँदै ’खुसीयाली साटा–साट’ अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत नयाँ स्कुटर खरिद गर्न चाहने ग्राहकहरूलाई नगद छुट, सजिलो किस्ता सुविधा, र अतिरिक्त उपहारहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यस विशेष अफरमा ग्राहकहरूले भेस्पा वा अप्रिलियाको स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् भने एक्सचेन्ज गर्दा पुरानो स्कुटरमा १० हजार रुपैयाँ अतिरिक्त मूल्याङ्कन पनि प्राप्त गर्न सकिनेछ । यस्तै, ४.९९ प्रतिशत ब्याजदरमा उपलब्ध इएमआई योजनाले पनि खरिद प्रक्रिया अझ सहज बनाएको कम्पनीको भनाइ छ ।

त्यसैगरी, प्रत्येक स्कुटर खरिदमा कम्पनीले हेल्मेट र स्टाइलिश किरिङ निःशुल्क दिने व्यवस्था मिलाएको छ । छिटो र सरल फाइनान्स सेवाबाट ग्राहकहरूले तुरुन्तै आफ्नै भेस्पा वा अप्रिलिया स्कुटर सडकमा ल्याउने अवसर पाउनेछन् ।

सुनराको ‘सुपर सेभ अफर’ : नयाँ वर्षमा इलेक्ट्रिक स्कुटरमा ६० हजारसम्मको छुट, बीमा र ट्याक्स निःशुल्क

नयाँ वर्ष २०८२ को स्वागतसँगै इलेक्ट्रिक स्कुटर निर्माता सुनराले ‘सुपर सेभ अफर’ नामक छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले वातावरणमैत्री सवारीप्रति आकर्षण बढिरहेका बेला ग्राहकहरूलाई थप प्रोत्साहन दिन नयाँ अफर ल्याएको हो । यस अफरअन्तर्गत सुनराका विभिन्न मोडेलका स्कुटरमा ६० हजार रुपैयाँसम्मको विशेष छुट दिइने बताइएको छ ।

कम्पनीका अनुसार ’के.५’ मोडेल अब १ लाख ६९ हजार ९०० रुपैयाँमा, ‘रोबो–ए’ ३ लाख २० हजार ९०० मा र ‘एचडब्ल्युएके’ २ लाख ३६ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । मूल्य घटाएको मात्र नभई कम्पनीले ग्राहकलाई थप फाइदाका सुविधा पनि दिएको छ ।

अफर अवधिमा स्कुटर खरिद गर्ने सबै ग्राहकलाई बीमा निःशुल्क, एउटा हेल्मेट र रोड ट्याक्स समेत कम्पनीले स्वयं तिरिदिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*