सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गरी चाँडै गभर्नर नियुक्ति हुन्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नेतृत्वलाई योग्य र अनुभवी व्यक्तिसँग जिम्मा दिने तयारी भइरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले गभर्नर नियुक्ति सम्बन्धी चर्चालाई अनावश्यक भन्दै निकट भविष्यमै सबैलाई सकारात्मक सन्देश दिने गरी निर्णय गरिने स्पष्ट पारे।
उनले भने, ‘बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ।’
उनले देशको समग्र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयन गरिने पनि बताए। ‘आयोगले दिएको सुझावमध्ये तत्काल कार्यान्वयन गर्न सकिने कुरालाई बजेटमा समावेश गर्ने गरी योजना बनाइँदैछ’ उनले भने।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइने बजेट अनुशासित ढंगले स्रोत व्यवस्थापन र परिचालन गर्ने गरी तयार पारिने अर्थमन्त्रीको भनाइ थियो। ‘यदि हामी स्रोत व्यवस्थापनमा अनुशासन कायम गरेर अघि बढेनौँ भने थप चुनौती आइपुग्ने सम्भावना हुन्छ’ उनले भने।
उनले आगामी बजेटले निजी क्षेत्र र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउँदै समावेश गरिने कार्यक्रमहरू प्रतिफलमुखी हुने दाबी गरे।