आर्थिक लयसँगै निर्माण क्षेत्रमा चहलपहलः थपियो १० अर्ब लगानी, कुन बैंकबाट कति कर्जा प्रवाह ?

२९ चैत्र २०८१, शुक्रबार १६:१७

काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ। पछिल्लो समय अर्थतन्त्रका विभिन्न सूचकहरू सुधारोन्मुख देखिन थालेपछि निर्माण उद्योगमा पुनः चहलपहल बढेको हो। ठूला पूर्वाधार परियोजनाहरूले गति लिँदै जाँदा यस क्षेत्रले पनि लय समात्न थालेको छ।

निजी क्षेत्रले जलविद्युत् आयोजना, सडक, पुल र बहुप्रतिक्षित भवन निर्माणमा सक्रियता देखाउन थालेको छ। यस्ता पूर्वाधारमा निजी लगानी बढ्न थालेपछि निर्माण व्यवसायीहरूको आत्मविश्वास पनि बढेको छ। लगानीकर्ताहरू यस क्षेत्रमा पुनः आकर्षित भइरहेका छन्, जसले गर्दा निर्माणजन्य गतिविधिहरू विस्तार हुँदै गएका छन्।

निर्माण व्यवसायीहरूका अनुसार सरकारले भुक्तानी प्रक्रिया सहज बनाउँदै लिएको नीतिले उद्योगलाई गतिशील बनाउन सहयोग पुगेको छ । समयमै रकम प्राप्त हुन थालेपछि थुप्रै निर्माण कम्पनीहरूले रोकिएका तथा नयाँ परियोजना अगाडि बढाउन थालेका छन्। व्यवसायीहरू भन्छन्, सरकारी भुक्तानीको ढिलासुस्ती हटेपछि पुँजी प्रवाह सहज भएको छ, जसले निर्माण कार्यलाई तिव्र बनाएको छ।

त्यस्तै, सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न ल्याएको नीतिगत सहुलियत र अध्यादेशमार्फत गरिएको सुधारले पनि निर्माण क्षेत्रमा लगानी विस्तार भएको छ। निजी क्षेत्रले बैंक ऋण लिने वातावरण सहज भएपछि ठूला आयोजना अघि बढाउन थप हौसला मिलेको छ। यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। निर्माण क्षेत्रमा चहलपहल बढ्न थालेपछि त्यसको प्रभाव अन्य क्षेत्रहरूमा पनि देखिन थालेको छ। रोजगारी सिर्जनादेखि लिएर बैंकिङ कारोबारसम्म विस्तार भएको छ। यसले आन्तरिक माग बढाउन सहयोग पु¥याउने अर्थशास्त्रीहरू बताउँछन्। विकास निर्माणमा आएको सक्रियताले आर्थिक पुनरुत्थानको संकेत दिएको उनीहरूको तर्क छ।

यसैबीच, बैंकहरू पनि निर्माण क्षेत्रमा कर्जा प्रवाह बढाउन थालिसकेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब १ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे ५ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ९१ अर्ब २४ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। पछिल्लो एक वर्षको अवधमिा बैंकहरुले साढे १० अर्ब रुपैयाँ कर्जा निर्माण क्षेत्रमा प्रवाह गरेका छन् ।

अधिकांश बैंकहरुले निर्माण क्षेत्रमा लगानी बढाएका छन् भने तर ५ बैंकको भने घटेको देखिन्छ । निर्माण क्षेत्रमा सबैभन्दा ठुलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले यो क्षेत्रमा२५ अर्ब ८२ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा लगानी गरेको छ । यो गत आवको फागुन मसान्तसम्मको तुलनामा भने ११.८६ प्रतिशत बढी हो ।

यता, एनआइसी एशिया बैंकले २३ अर्ब ७० करोड रुपैयाँ निमार्ण क्षेत्रमा लगानी गरेको छ । लक्ष्मी सनराइज बैंकले पनि निर्माण क्षेत्रमा २० अर्ब १७ करोड रुपैयाँ लगानी गरेको छ । तर, यो गत आवको तुलनामा भने ३६.१२ प्रतिशत कमी हो ।

समिक्षा अवधिमा कुमारी बैंकले निर्माण क्षेत्रमा १६ अर्ब २१ करोड, प्रभु बैंकले १४ अर्ब ७५ करोड, सिटिजन बैंकले १३ अर्ब ७१ करोड, प्राइम बैंकले १३ अर्ब र कृषि विकास बैंकले १२ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् ।

फागुन मसान्तसम्मको अवधिमा अन्य ११ बैंकले १० अर्बभन्दा तल निर्माण क्षेत्रमा लगानी गरेका हुन् ।

कुनै बैंकको लगानी कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*