शिक्षक आन्दोलन आज पनि जारी
२९ चैत्र २०८१, शुक्रबार १३:४०

काठमाडौं । देशभरका शिक्षकहरूले विद्यालय शिक्षा ऐन माग गर्दै चैत २० गतेबाट काठमाडौंमा शुरू भएको सडक आन्दोलन आजसम्म १० दिन बितिसक्दा पनि जारी छ।
नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप चर्काउन चैत २५ गतेदेखि शैक्षिक हड्तालको घोषणा समेत गरेर कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन शिक्षकहरूलाई आह्वान समेत गरेको छ।
यता नेपाल सरकारले शिक्षकहरूलाई वार्तामा आह्वान गरिरहेको छ भने शिक्षकहरूले विगतमा पनि वार्ता भइसकेकाले अब त्यो औचित्यहीन भएको भन्दै अस्वीकार गरिरहेका छन्।
शिक्षकहरूले संसदको विशेष अधिवेशन, वर्षे अधिवेशन बोलाएर नत्र अध्यादेशबाटै भएपनि ऐन जारी गर्नैपर्ने माग राखेका छन्। ऐन जारी नभएसम्म आन्दोलनबाट पछि नहट्ने चेतावनी शिक्षकहरूले दिएका छन्।