नाफामा आईसीएफसी र मन्जुश्रीको कडा टक्कर, ७ फाइनान्स ऋणात्मक हुँदा डुब्दै जानकी र पोखरा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा आइपुग्दा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत वर्ष २०८०।०८१ को सोहि अवधिमा फायनान्स कम्पनीहरुले २२ करोड २८ लाख नाफा कमाएका थिए ।
यसअवधिमा ८ वटा फाइनान्सहरु मात्र नाफामा छन् बाँकी कम्पनीले भने खुद घाटा व्यहोरेका छन् । नाफा कमाएका फाइनान्स कम्पनीहरुमा पनि तीनको नाफा गत आवको तुलनामा बढेको छ भने तीन कम्पनीको घटेको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा आइसीएफसी फाइनान्स अगाडि देखिएको छ । यसअवधिमा फाइनान्सको नाफा ६८.२९ प्रतिशतले बढेर १४ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको नाफा ८ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा मन्जुश्री फाइनान्स रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले १३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो नम्बरमा रहेको प्रोगेसिभ फाइनान्सले ८ करोड ९२ लाख रुपैया, चौथो नम्बरमा रहेको श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ९६ लाख र मल्टी प्रपोज फाइनान्सले २ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यता, गुडवील फाइनान्सले २ करोड १५ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ३२ लाख र नेपाल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।
साथै अन्य सात कम्पनी भने घाटामा देखिएका छन् । सर्वाधिक घाटामा रहनेमा पोखरा फाइनान्स रहेको छ । फागुन मसान्तसम्मको अवधिमा पोखराले ७५ करोड ८४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
यता, जानकी फाइनान्सले १३ करोड ६९ लाख, रिलायन्स फाइनान्सले ११ करोड ४ लाख, समृद्धिले ८ करोड २७ लाख, गोर्खाज फाइनान्सले ४ करोड ९३ लाख, वेष्ट फाइनान्सले ३ करोड ७७ लाख र गुहेश्वरी मर्चेन्ट फाइनान्सले २३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
खराब कर्जा चुलिँदै जाँदा कम्पनीको नाफा प्रभावित भइरहेको छ । ७ कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ । अझ, फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकलाई झुटो वित्तीय विवरण पेश गर्ने गरेको तथ्य समेत बाहिर आउने गरेको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको पोखरा फाइनान्सको अधिकांश सूचक धरापमा रहेको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ । तर, राष्ट्र बैंकले ४१ प्रतिशत खराब कर्जा देखाएको थियो । यसरी अन्य फाइनान्स समेत झुटा वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गर्ने गरेको छन् ।
कम्पनीहरुको वित्तीय अवस्था टाट पल्टिने अवस्था हुँदा पनि राष्ट्र बैंकलाई गलत वित्तीय रिपोर्ट दिने गरेको छ । लगानीकर्तालाई फसाउन कम्पनीहरु लागि परेको भएपनि यस्तो लापरबाहीमा राष्ट्र बैंक भने मौन नै देखिन्छ । विडम्बना यस्ता कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूप्रति शेयर बजारमा लगानीकर्ताको आकर्षण झनै बढ्दो देखिएको छ । खराब कर्जाको भार थेग्न नसक्ने अवस्थामा रहेका कम्पनीहरूको शेयर मूल्य उच्च रहेको तथ्यले बजारको यथार्थता र लगानीकर्ताको मानसिकतालाई प्रश्नचिह्न लगाएको छ । लगानीकर्ताहरूले कम्पनीको वास्तविक वित्तीय अवस्था हेर्नुको साटो केवल बजारमा चलेका हल्ला र सामान्य ट्रेन्डलाई प्राथमिकता दिएको देखिन्छ ।