जलविद्युतको आइपीओ प्रक्रियामा कडाई, उत्पादन सुरु नगरी शेयर ल्याउन नपाउने
२९ चैत्र २०८१, शुक्रबार ११:०१

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर निष्काशन (आईपीओ) प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उत्पादन थालनीपछि मात्रै आईपीओ जारी गर्न दिने प्रस्ताव अघि सारेको छ।
शुक्रबार आयोगले अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा जलविद्युत क्षेत्रको लगानी जोखिम कम गर्न र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षित गर्न यस्तो सिफारिस गरिएको हो।
‘जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निष्काशन गर्न पाउने व्यवस्था गर्ने’ आयोगले सुझावमा भनेको छ ।
हाल प्रचलित नियमअनुसार कतिपय जलविद्युत कम्पनीहरुले आयोजना निर्माणको प्रारम्भिक चरणमै आईपीओ निष्काशन गर्ने गरेका छन्।