अनलाइनमार्फत शेयरसम्बन्धी तालिम भन्दै ठगी, साइबर ब्यूरोले निकाल्यो यस्तो सूचना

२८ चैत्र २०८१, बिहीबार १६:३९

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा रुचि राख्ने आम लगानीकर्तालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत अनलाइन ठगीका घटना बढ्दै गएकोप्रति नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरोले गम्भीर ध्यानाकर्षण गराएको छ।

साइबर ब्यूरोका अनुसार सेयर मार्केटसम्बन्धी तालिम दिने, सहज लोन उपलब्ध गराउनेजस्ता प्रलोभन देखाउँदै विभिन्न प्रयोगकर्तालाई Phishing लिङ्कमार्फत फाइला डाउनलोड गर्न लगाउने गतिविधि तीव्र रुपमा बढेको छ। यस्तो लिङ्कमा क्लिक गरेपछि प्रयोगकर्ताको मोबाइल, ल्यापटप वा अन्य स्मार्ट उपकरणमा मालवेयर इन्स्टल भई व्यक्तिगत तथा वित्तीय विवरणहरु ह्याक हुने खतरा रहन्छ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार केही प्रयोगकर्ताले बैंकिङ वालेटमा असामान्य गतिविधि देखिएको भन्दै ‘The Alert’ वा ‘AT Alert’ जस्ता शॉर्ट कोडबाट SMS पठाइएको उल्लेख गरेका छन्। ती सन्देशमा खाताको प्रमाणीकरण गर्न लिङ्क क्लिक गर्न भनिँदै खाता सस्पेन्ड गरिने चेतावनी दिइने गरिएको छ, जुन पूर्णतः फर्जी र ठगीको नियतले गरिएको हो।

साइबर ब्यूरोले सेयर बजारमा क्रियाशील लगानीकर्ता तथा आम प्रयोगकर्तालाई यस्ता लिङ्क नखोल्न, कुनै पनि शंकास्पद सफ्टवेयर इन्स्टल नगर्न तथा वित्तीय विवरणहरू साझेदारी नगर्न आग्रह गरेको छ। साथै, यस्ता ठगीका प्रयास भएमा तत्काल साइबर ब्यूरोलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

सेयर बजारको नाममा भइरहेको यस्ता डिजिटल ठगीले ठूलो संख्यामा लगानीकर्ता ठगिने सम्भावना रहेको भन्दै साइबर ब्यूरोले विशेष सावधानी अपनाउन सार्वजनिक अपिल गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*