बिना तयारीका योजना बजेटमा समेट्दा कार्यान्वयनमा समस्या: अर्थमन्त्री पौडेल

२८ चैत्र २०८१, बिहीबार १६:१९

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजनाहरू बजेटमा समावेश गरिँदा कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले चालू आर्थिक वर्षमा करिब ११ हजार योजना अध्ययन र तयारीबिना नै बजेटमा लोड गरिएको जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष ७ हजारजति आयोजना रहेकोमा यस वर्ष थप ११ हजार आयोजनाको समावेशीकरणसँगै संख्या १८ हजार पुगेको छ, जसले कार्यान्वयनमा समस्या बढाएको हो।

‘सीमित स्रोतलाई अत्यधिक सदुपयोग गर्ने दिशामा सरकारले काम गरिरहेको छ’ पौडेलले भने, ‘आगामी वर्षको बजेट निर्माणमा पनि स्रोतको सीमालाई ध्यानमा राखी योजना तय गरिनेछ।’ उनले बजेट लेखनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको र क्यालेन्डर बनाएर पूर्वतयारी थालिएको जानकारी समेत दिए।

त्यस्तै, उनले मुलुकलाई फाइनान्सियल एक्शन टास्क फोर्सको ग्रे लिस्टबाट बाहिर ल्याउने प्रयास तीव्र रूपमा भइरहेको उल्लेख गरे। अघिल्लो सरकारले लापरवाही गर्दा नेपाल ग्रे लिस्टमा परेको हो, तर हालको सरकारले समयबद्ध कार्यतालिकासहित त्यसबाट मुक्त हुने दिशामा अग्रसरता लिएको छ’ मन्त्री पौडेलको भनाइ थियो।

उनले समृद्धिका लागि सुशासन अनिवार्य रहेको धारणा व्यक्त गर्दै मन्त्रालयले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नेगरी आफ्नो कार्ययोजना अघि बढाइरहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*