नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथः सांग्रिला र महालक्ष्मीको कडा टक्कर, पुच्छरमा ज्योति र लुम्बिनी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा ४ अर्ब भन्दा माथि पुगेकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४ अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका हुन् ।
यो गत आवको तुलनामा भने २४.०१ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा भने बैंकहरुले ३ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ नाफा कमाए थिए ।
नाफामा गरिमा विकास बैंक नम्बर वानको वर्चश्व कायम गरेको छ । गरिमा उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको ८ महिनामा बैंकले २८ प्रतिशत नाफा वृद्धि गर्दै ८३ करोड ४८ लाख रुपैयाँ पुराएको छ ।
समिक्षा अवधिमा नाफामा मुक्तिनाथ विकास बैंक गरिमालाई पछ्याइरहेको छ । मुक्तिनाथको नाफा १९.३७ प्रतिशतले बढेर ७८ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
साथै, साइन रेसुङ्गाको मुनाफा ८.०४ प्रतिशतले बढेर ५६ करोड ४८ लाख, कामना सेवाको ३१.३३ प्रतिशतले बढेर ५० करोड ११ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ३.४६ प्रतिशतले बढेर ४२ करोड १५ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको ८९ प्रतिशतले बढेर ४० करोड ६६ लाख पुगेको छ ।
साथै, ज्योति विकास बैंक र लुम्बिनी विकास बैंक भने राष्ट्रिय स्तरका विकास बैंकमा नाफा कमाउने बैंकको सूचीको पुच्छरमा रहेका छन् । कम्पनीहरुको खराब कर्जा बढ्दै जाँदा नाफा गर्ने नै सकस परेको अवस्था छ । चालु आर्थिक वर्षका ८ महिना ३६ करोड र लुम्बिनीको ३१ करोड मात्रै मुनाफा रहेको छ ।