नक्कली लाइसेन्स बेचेर मासिक ३ करोडबढी कमाउने ४ जना पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बेचेर मासिक ३ करोड रूपैयाँभन्दा बढी कमाउने धन्दामा संलग्न सरकारी कर्मचारीसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्यूटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्यूटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोेटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई पक्राउ गरेको हो।
अख्तियारले आरोपीहरूले नक्कली लाइसेन्स बनाउन प्रयोग गर्ने गरेको विद्युतीय उपकरणसहित बाँकेका विभिन्न स्थानहरूबाट चैत २७ गते बुधबार पक्राउ गरेको जानकारी दिएको छ। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन्।