फेरिँदै अर्थतन्त्रको वित्तीय चित्रः अधिकांश सूचक सकारात्मक लयमा, को कति मजबूद?

२७ चैत्र २०८१, बुधबार १८:११

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको रिपोर्टले विभिन्न आर्थिक सूचकांकहरूमा सुधारको संकेत दिएको छ ।

आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको प्रयासलाई महत्वपूर्ण मान्दै समग्रमा सकारात्मक प्रवृत्तिको सङ्केत गरिएको छ । यसले व्यवसायीहरूको मनोबलमा सुधार ल्याएको छ र अर्थतन्त्रले ठूला चुनौतीहरूको बाबजुद सुधार देखाउन थालेको छ । निर्माण क्षेत्र पनि मन्दी पछि पुनः सक्रिय हुँदै गएको छ, जसले व्यापार र उद्योग क्षेत्रमा नयाँ उत्साह थपेको छ। यसले समग्र अर्थतन्त्रको उत्थानमा सकारात्मक भूमिका खेल्न थालेको छ।
व्यवसायीहरूको मनोबल बढ्दै गएको छ । तत्कालिन सरकार निजि क्षेत्रमा रहेको समस्या समाधान तिर अग्रसर भइरहेदा ब्यवसायीहरु पनि लगानी गर्ने वातावरण तयार भएको प्रतिक्रिया दिइरहका छन् । समग्र अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको छ।

फागुनमा भित्रियो डेढ खर्ब रेमिट्यान्स, ८ महिनाको साढे १० खर्ब नाघ्यो

एक महिनामा मात्रै डेढ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा मात्रै उक्त रेमिट्यान्स नेपाल आएको हो ।

चालु आवको ८ महिनामा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको छ । फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अमेरीकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको हो । माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको हो ।

यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो । चालु आर्थिक वर्षको फागुनसम्स अन्तिम श्रम स्वीकृत र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

फागुसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।

महङ्गीको अवस्था कस्तो ?

चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६० प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।

चालु खाता १ खर्ब ८० अर्बले बचतमा

फागुन मसान्तसम्ममा चालु खाता एवम् शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता यो अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ ।

फागुन मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।

विदेशी मुद्रा सञ्चिति २४ खर्ब, १७.२ महिनाको आयात धान्ने

नेपालको विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँको नयाँ उचाइमा पुगेको छ। चालु आर्थिक वर्षको आठ महिनासम्ममा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको हो। यस अवधिमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १३.१ प्रतिशत वृद्धि भएर १७ अर्ब २७ करोड डलर पुगेको छ।

नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति पनि १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको विदेशी विनिमय सञ्चिति ४४.९ प्रतिशतको वृद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड पुगेको छ। फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१–८२ को आठ महिनाको आयातलाई आधार मानेर बैंकिङ्ग क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ। यसले नेपालको आर्थिक स्थिरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सञ्चितिको अनुपात पनि प्रभावशाली छ। फागुन महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.२ प्रतिशत, कुल आयातसँगको अनुपात ११९.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३३.० प्रतिशत रहेको छ। गत वर्षको असार महिनामा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

आयात र निर्यात बढ्यो

चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो ।

यो महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो ।

यो अवधिमा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*