बीमासँग १६ वर्षदेखि सहयात्राः सिटिजन लाइफ प्रवेशसँगै कर्णालीका पदम बुढाले गरे यस्तो प्रगति

‘सन्तुष्टी र सेवाभावले अभिकर्ता पेशाप्रति लगाव’ 
२७ चैत्र २०८१, बुधबार १२:१३

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेका जाजरकोटका पदम बहादुर बुढाको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थे तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भए ।

सफलताको लागि मेहनत अनिवार्य छ भन्ने कुरा सानैदेखि बुझेका पदमले विद्यार्थीहरुलाई पढाउँदा घोकाउने भन्दा पनि बुझाउने र व्यवहारिक शिक्षाका लागि अहोरात्र खटिरहन्थे । यही संघर्ष र मेहनत गर्ने बानीले बीमा क्षेत्रमा आज एक सफल एजेन्सी म्यानेजरको रुपमा कम्पनी, समाज अनि सिंगो बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएका छन् ।

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–६ का पदम यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएका छन् । सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित पदम समग्र कर्णाली प्रदेशका उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेका छन् ।

मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान र शिक्षण पेशाबाट कमाएको विश्वासको उपयोगबाटै पदमले सिटिजन लाइफमा आबद्ध भएको एक वर्षमै लोभलाग्दो प्रगति गर्न सफल भएका हुन् । शिक्षक पेशामा आफ्नो दैनिकी बिताइरहेका पदम बहादुर बुढालाई सिटिजन लाइफको बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज पदम सिटिजन लाइफको नमुना एजेन्सी म्यानेजरको परिचय बनाउन सफल भएका छन् ।

 

जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सका अभिकर्ता पदम बहादुर बुढाले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले पदमलाई निकै सहयोग गरेको छ ।

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–६ मा जन्मिएका पदम बहादुर बुढाले अहिले सिटिजन लाइफ इन्स्योरेन्सको जाजरकोट शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुल्नुका साथै शिक्षण पेशामा समेत आवद्ध भएका पदमले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान व्यक्तिको रुपमा स्थापित गरेका छन् ।

सानैदेखि पढाइप्रति रुची राख्ने स्वभावका व्यक्ति हुन् पदम बहादुर बुढा । एक दशक अगाडी उनले जाजरकोट जिल्लाको भेरी ज्ञानोदय क्याम्पस, खलङ्गाबाट वि.स.२०६८ सालमा स्नातक तह उत्तिर्ण गरेका थिए । उनी हाल रुकुम जिल्लाको शितल बहुमुखी क्याम्पसमा एमएड तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । समाजमा एक शिक्षित र इमान्दार व्यक्तिको रुपमा आफ्नो परिचय बनाएका पदमले शिक्षक पेशामा समेत आवद्ध भएर हजारौं बालबालिकाहरुलाई इमान्दारीताको बाटो देखाइरहेका छन् ।

गाउँ समाजमा एक असल व्यक्तिको परिचय भएका पदमलाई अभिकर्ता बन्नको लागि वि.स.२०६५ सालमा नेपाल लाइफका तत्कालिन सुर्खेत शाखा प्रमुख कैलाश देवकोटाले सल्लाह दिएको सुनाए । सुरुमा बीमा बारेमा केही कुरा सुनेको भएतापनि उनी तत्कालिन शाखा प्रमुख देवकोटाको सल्लाहमा अभिकर्ता लाइसेन्स निकालेर सर्वप्रथम आफ्नो बीमा गरी बीमा व्यवसायको सुरुवात गरेको सुनाउँछन् ।

२०६५ सालदेखि बीमा व्यवसायमा सक्रिय रहेका पदमले हालसम्म करिव पाँच सय जना मानिसको जीवन बीमा गरेर उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए । ‘सुरुमा मैले बीमाबारे धेरै सुनको थिए, तर यो के हो? कसरी गर्ने?, कस्ता पोलिसी हुन्छन्? दावी के हो? लगायतका विषयको बारेमा त्यति धेरै ज्ञान थिएन् । शिक्षण पेशा गर्दै आएका कारण गाउँ समाजमा राम्रो सम्बन्ध र नागरिकको म प्रति राम्रो विश्वास रहेको थियो।’ उनले भने ।

घर परिवारको राम्रो साथ र सहयोग पाएका पदमले बीमा व्यवसायलाई निरन्तरता दिन समय अभाव भएपछि जाजरकोटको कुशे गाउँपालिका–७ मा रहेको जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक पदलाई समेत त्यागेर बीमा व्यवसायलाई नै आन्तसाथ गरेर अगाडी बढेका छन् ।

‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै प्रतिस्प्रर्धा रहेको छ । मैले जाजरकोटमा विभिन्न पुराना कम्पनीहरुमा बीमा गरेर समस्या भोगिरहेका नागरिकहरुको समस्या समेत समाधान गरी दिने गरेको छु । उहाँहरुलाई बीमा पोलिसी सरेण्डर, नबिकरण तथा दावी लगायतका विषयमा जानकारी दिदै आएका कारणले पनि नागरिकहरुले मलाई बोलायरै बीमा गर्ने समेत गरेका छन् ।’ उनी भन्छन्, ‘बीमा अभिकर्ता पेशा एउटा सेवाभावले गरिने मर्यादित पेशा हो । जसले हजारौं नागरिकको जीवनको जोखिम रक्षावरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाको लागि असल छोरा, छोराछोरीको लागि मिहिनेती बुवा बन्नुका साथै जिम्मेवार श्रीमानको रुपमा आफ्नो जिम्मेवारी पुरा गरीरहेका छन् । आफ्नो छोरा–छोरीलाइ गुणस्तरीय शिक्षा हासिल गराउँनुका साथै श्रीमती र घरपरिवारको हरेक सुख, दुःखमा साथ दिदैै आएका छन् ।

घर परिवार र गाउँ समाजको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका पदम अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछन् । देशको विकट क्षेत्रको रुपमा रहेको कर्णाली प्रदेशको जाजरकोट जिल्लाको लागि उनी बीमाको संवाग बन्न पुगेका छन् । गाउँ समाजमा पहिला जस्तो बीमाबारे नकारात्मक सोच तथा धारणा नरहेको सुनाउँछन् उनी ।

‘सूूरुमा यहाँका नागरिकहरुमा  बीमाबारे केही नकारात्मक धारणा थियो  तर आजभोलि बीमा प्राधिकरणको सक्रियताले गर्दा विभिन्न सेवा–सुविधा अनलाइनबाट हुन थाल्यो, मानिसहरुले बीमाको महत्व बुझ्न थालेपनि अनि बल्ल मानिसहरु सकारात्मक बनेका छन् ।’ उने भने ।

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले पदम जाजरकोट शाखा कार्यालयबाट गत वर्ष गोल्ड क्लवमा छनौट भएका छन् । साथै उनी गत वर्ष सिटिजन लाइफमा ७६ जना नयाँ अभिकर्ता बनाएर अभिकर्ता व्यवस्थापनमा नेपालभरीबाट दोस्रो स्थान हासिल गरी सम्मानित भएका थिए । सिटिजन लाइफ इन्स्योरेन्सको दुबै टुर योजनामा छनौट भएर दुबै घुमेर आएको उनी बताउँछन् ।

पदमका अनुसार सिटिजन लाइफमा रहेका बाल भविष्य र जीवन सुरक्षा लगायतका बीमा पोलिसीहरु नागरिकको पहिलो रोजाईमा रहेका छन् । नागरिकहरुले आफ्ना बालबालिकाहरुको लागि बाल भविष्य बीमा पोलिसी बढी खरिद गर्ने गरेका छन् । उनले  जाजरकोट र आसपाँसका जिल्लामा रहेका मानिसहरुको बीमा गरी उनीहरुको जीवनको जोखिम रक्षावरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका छन् ।

‘मैले बीमाबारे धेरै अध्ययन गरे । विभिन्न तालिमहरु लिए । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । मानिसहरुले आफु बीमा कम्पनीबाट ठगिएको लगायतका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ उनी भन्छन् ।

नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा व्यक्त गरेका छन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

बीमा व्यवसायमा प्रवेश गरेसँगै पदमको जीवनमा आमुल परिवर्तन आएको छ । अभिकर्ता बनेसँगै उनको आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले कर्णाली प्रदेशका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएका छन् ।

आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउँछन् पदम । अन्त्यमा , उनले आम नागरिकहरुलाई जीवन बीमा एकदमै अनिवार्य आवश्यकताको रुपमा रहेको भन्दै मानिसहरुलाई आफ्नो क्षमता अनुसारको बीमा गर्न सुझाव दिएका छन् । देशमा रहेको बेरोजगारीको समस्यालाई पनि निराकण गर्न अभिकर्ता पेशाले महत्वपूर्ण भुमिका रहेको उनको धारणा छ ।

शिक्षण पेशामा अमूल्य समय बिताइरहेका पदमले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*