सान्भि इनर्जीको पहिलो चरणको आईपीओ वैशाख ५ गतेदेखि

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी वैशाख ५ गतेदेखि निष्कासन गर्ने भएको छ।
यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावितका लागि निष्कासन गरिएको शेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्याेदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसमा आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।
यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ। कम्पनीको सेक्टर हाइड्रोपावर रहेको छ।