५३ लाखमा किनेको ‘सेरेस थ्री’ गाडीको मर्मत खर्च १ करोड ५० लाख

२६ चैत्र २०८१, मंगलवार १७:२०

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दो छ । ईभी गाडीको व्यापार उल्लेख्य रुपमा बढ्दै जाँदा पेट्रोलियम इन्धन गाडी बिक्री हुनै सकस भइरहेको छ । ईभी गाडीमा ग्राहक झुम्मिदै गर्दा पछाडि लुकेका जटिलता, खर्चिलो मर्मत र बिक्रीपछिको कमजोर सेवा प्रणालीबारे भने पर्याप्त छलफल भएको छैन । यस्तै एउटा घटना काठमाडौँमा देखिएको छ, जहाँ एक जनाले किनेको विद्युतीय गाडी मर्मत गर्न खरिद मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नु परेको छ ।

राजेश न्यौपानेले केही महिनाअघि मात्रै ५३ लाख रुपैयाँ खर्च गरेर ‘सेरेस थ्री’ मोडलको विद्युतीय कार किनेका थिए । सेरेस ब्रान्डको गाडी नेपालमा एमएडब्लु वृद्धि मोटर्सले बिक्री वितरण गर्दै आएको छ । सुरुमा गाडी खरिद गर्दा उनले आराम, प्रविधि र वातावरणमैत्री यातायातको सपना देखेका थिए । तर, त्यो सपना केही महिनामै बाढीले बगायो अनि त्यसपछि सुरु भयो दुःखद वास्तविकताको यात्रा ।

गत असोज १२ गते काठमाडौँ उपत्यकामा आएको अविरल वर्षाले शहरका धेरै स्थान डुबानमा परे । बालकुमारीस्थित हिल भ्यू हाउजिङमा पार्किङमा राखेको  न्यौपानेको गाडी पनि त्यसै दिन डुब्यो । डुबानपछि गाडीको अवस्था अत्यन्तै नाजुक भयो—मोटर, च्यासिस, ब्याट्रीजस्ता महत्वपूर्ण अङ्गहरु पूर्णरूपमा काम नलाग्ने अवस्थामा पुगे । उक्त गाडीको बीमा नेको इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।

डुबेको गाडी हेर्न एमएडब्लु वृद्धि मोटर्सको सर्भिस टिम घटनास्थलमै पुग्यो । गाडीलाई वर्कशपसम्म ल्याइयो ।  बीमा कम्पनी नेको इन्स्योरेन्सका प्रतिनिधिहरूले पनि गाडीको निरीक्षण गरे । इन्स्योरेन्स कम्पनीले गाडी मर्मतको लागि आवश्यक पर्ने खर्चको विवरण तयार ग-यो । त्यस अनुसार गाडी पूर्णरूपमा बनाउन करिब १ करोड ५० लाख रुपैयाँ लाग्ने देखियो । यति धेरै खर्च देख्दा बीमा कम्पनी र गाडी धनी दुवै चकित भए । किनभने उक्त गाडीको खरिद मूल्य मात्र ५३ लाख रुपैयाँ थियो । गाडीको सम्पूर्ण इलेक्ट्रिक सिस्टम, मोटर, च्यासिस र अन्य पाटपुर्जा फेर्नुपर्ने भएपछि लागत अत्यन्तै बढेको हो । खासगरी विद्युतीय गाडीका स्पेयर पाट्र्स बजारमा सजिलै उपलब्ध छैनन्, उपलब्ध भए पनि अत्यन्तै महँगा छन् ।

तीन महिनाको झन्झट, निरन्तर अनुगमन, कागजी प्रक्रिया र निराशाजनक पर्खाइपछि उनले बल्ल २० प्रतिशत घाटा व्यहोरेर बीमा रकम प्राप्त गरे । बीमा कम्पनीले दिएको रकमले नयाँ गाडी किन्न त परै जाओस्, पुरानो गाडी मर्मत गर्न पनि पुग्दैन ।

यो घटनाले विद्युतीय गाडी खरिद गर्दा उपभोक्ताहरूले ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षहरू उजागर गरेको छ । नेपालको विद्युतीय गाडी बजार अझै परिपक्व छैन । गाडी विक्रेता कम्पनीहरूले बिक्रीपछिको सेवा प्रणालीलाई प्राथमिकता दिएका छैनन् । उपभोक्ताहरूले गाडी किन्दा मूल्यमा मात्रै ध्यान दिँदा पछि महँगो मूल्य चुकाउनुपर्ने स्थिति आउँछ । उदाहरणका लागि, पेट्रोल वा डिजेल गाडीको मर्मत तथा पार्टस् सजिलै उपलब्ध छन् र तुलनात्मक रूपमा सस्ता पनि । तर, विद्युतीय गाडीका मूल उपकरण बिग्रिएमा तिनको विकल्प सस्तोमा पाइँदैन, कहिलेकाहीँ त आयात नै गर्नुपर्छ ।

विद्युतीय गाडीप्रतिको आकर्षण स्वाभाविक हो । पेट्रोलियम इन्धनमा निर्भरता घटाउने प्रयासका रूपमा यो सकारात्मक विकल्प हो । तर, नेपालमा यसको पूर्वाधार, जनशक्ति, सेवा प्रणाली र उपभोक्ता सचेतना कमजोर छन् । जसको कारण यस्तो गाडी उपयोगकर्तालाई सजिलोभन्दा झनै टाउको दुखाइ बन्न पुगेको छ ।

उपभोक्ताहरू पनि गाडी किन्दा मूल्य, लुक्स र ब्रान्डमात्रै हेर्ने प्रवृत्तिमा छन् । तर, कुनै गाडी खरिद गर्दा बिक्रीपछिको सेवा, मर्मतको सजिलो, स्पेयर पाट्र्सको उपलब्धता, बीमा प्रक्रिया, र क्षतिको अवस्था आउँदा लाग्ने खर्चबारे गहिरो अध्ययन गर्नु आवश्यक हुन्छ । यदि त्यो नगरिएमा राजेश न्यौपानेजस्तै अवस्था भोग्न बाध्य हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*