कामु गभर्नर ढुंगानाको चैत्र २५ को अनौठो संयोग, दोस्रो कामु कहिलेसम्म ?

२६ चैत्र २०८१, मंगलवार १२:२७

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ । डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ । त्यो पनि दुई पटक नै चैत्र २५ गते ।

२०७८ साल चैत्र २५ गते तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गरी समिति बनाएपछि स्वतः निलम्वनमा परेकाले डेपुटी गभर्नर निलम ढुंगानाले कामु गभर्नर पद सम्हालेकी थिईन् । यस पटक हिजो अर्थात २०८१ चैत्र २५ गते निलम ढुंगानालाई दोस्रो पटक कामु गभर्नरको जिम्मेवारी प्राप्त भएको छ ।

यही चैत्र २२ गतेदेखि रिक्त गभर्नरको पदमा सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेपछि कामु गभर्नरको दोस्रो कार्यकाल सम्हाल्ने जिम्मेवारी ढुंगानालाई प्राप्त भएको हो । अब नयाँ गभर्नरले कार्यभार सम्हाल्नुअघिसम्म कामु गभर्नरको जिम्मेवारी ढुंगानाले निर्वाह गर्नेछिन् ।

ढुंगानाले आजबाट कामु गभर्नरको दोस्रो कार्यकाल सुरु गर्दैछिन् । यसअघि तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गरेर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको थियो । २०७८ साल चैत्र २५ गते बसेको मन्त्रिपरिषदको बैठकले तत्कालिन गभर्नर अधिकारीलाई बर्खास्त गर्न छानविन समिति गठन गरे लगत्तै निलम्वनमा परेका थिए । सोही दिन सरकारले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेको थियो ।

पहिलो पटक ढुंगानाले चैत्र २५ गतेदेखि बैशाख ६ गतेसम्म कायम मुकायम गभर्नरको पद सम्हालेकी थिईन् । उतिबेला जम्मा ११ दिन मात्रै काम गर्न पाएकी ढुंगानाले यस पटक कति दिन कामु गभर्नर बन्ने हो एकिन छैन । सरकारले गभर्नर नियुक्ती गर्दा अपनाउने मापदण्ड र कार्यविधि अनुसार कामु गभर्नर ढुंगानाको समय निर्धारण हुनेछ । अर्थमन्त्रालयले तयार पारेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७४ बमोजिम गभर्नर नियुक्त गर्ने प्रक्रिया सुरु गरेमा ढुंगानाले कामु गभर्नरमा एक महिना भन्दा बढि समय काम गर्नेछिन् । सरकारले छोटकरीमा कानुन विपरित नयाँ गभर्नर नियुक्त गरेमा केही दिनभित्रैमा सकिनेछ ।

त्यसो त कामु गभर्नर ढुंगाना आफै पनि नयाँ गभर्नरको सशक्त उम्मेदवार रहेकोले उनै ढुंगाना कामुबाट फूल गभर्नर बन्ने सम्भावना समेत जीवितै रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*