प्रिमियम आइपीओको तयारीमा रहेको नुम्बुर हिमालय हाइड्रोपावरको व्यापार खुम्चिदै, ऋणको भार उच्च

काठमाडौँ । हालको नेपाली पुँजीबजारमा आइपीओमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । केही कम्पनीहरू आफ्नो आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि सार्वजनिक निष्कासनको तयारीमा जुटेका हुन् । नाफा कमाउन नसकेका ऋणको भारमा रहेका र बन्द हुन नजिक पुगेका कम्पनीहरूले समेत आईपीओबाट पैसा उठाएर आफ्नो कर्जा तिर्ने सोच बनाएका छन् । यस्तो प्रवृत्तिले आम लगानीकर्ताको भरोसा गुम्न सक्ने सम्भावना देखिएको छ । कम्पनीहरूले आफनो वास्तविक आर्थिक अवस्था लुकाउँदै प्रिमियममा शेयर बिक्री गर्ने प्रयास गर्नु नै लगानीकर्तालाई भ्रममा पार्ने दुस्साहस हो ।
त्यस्तै, नुम्बुर हिमालय हाइड्रोपावर नामक कम्पनी यसको उदाहरण बनेको छ । सो कम्पनीले नाफा निरन्तर घट्दै गएको, ऋण भार निकै रहेको र वित्तीय सूचकहरू कमजोर रहेको स्थिति हुँदाहुँदै पनि आईपीओ ल्याउने प्रक्रिया अघि बढाएको छ । कम्पनीको उद्देश्य लगानीकर्ताबाट रकम उठाएर आफ्ना वित्तीय समस्या हल गर्नु रहेको देखिन्छ, जुन दीर्घकालीन रूपमा जोखिमपूर्ण अभ्यास हो । प्रिमियम मूल्यमा आईपीओ ल्याएर कम्पनीले छिटो पैसा उठाउने रणनीति बनाएको भए पनि लगानीकर्ताले यस्ता कम्पनीहरूको भित्री अवस्था नबुझी लगानी गर्दा ठूलो घाटा बेहोर्नुपर्ने स्थिति सिर्जना हुनसक्छ ।
सोलुखुम्बु र रामेछाप जिल्लाको लिखु खोलामा निर्माण गरिएको २९.०४ मेगावाट क्षमताको रन अफ रिभर ‘लिखु ए’ जलविद्युत आयोजना सञ्चालनमा आएसँगै नम्बर हिमालय हाइड्रोपावर लिमिटेडको कारोबारमा उल्लेख्य वृद्धी देखिए पनि वित्तीय सूचकहरू भने नकारात्मक रुपमा देखिएका छन् । कम्पनीले पछिल्ला तीन आर्थिक वर्षमा कुल आम्दानी बढाएको भए पनि सञ्चालनको आधारमा कम्पनी अझै पनि असहज स्थितिमा रहेको देखिन्छ ।
वर्षदिनको अवधिमा कम्पनीको एक करोडको व्यापार खुम्चिएको छ । सन् २०२३ मा ७४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२२ मा २७ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
पिबिल्डीटीमार्जिन हेर्दा कम्पनीको सञ्चालन नाफा लगातार घट्दो क्रममा देखिएको छ। सन् २०२२ मा ९१.८९ प्रतिशत रहेको यो सूचक सन् २०२३ मा घटेर ८४.४५ प्रतिशत र २०२४ मा झनै घट्दै ८२.७६ प्रतिशतमा झरेको छ । यसले कम्पनीको सञ्चालन लागत बढ्दो क्रममा रहेको र दीर्घकालीन नाफामुखी प्रवृत्तिमा प्रश्न खडा गरेको छ ।
‘ओभरअल गियरिङ’ अर्थात् कुल ऋण र इक्विटीको अनुपात पनि कम्पनीका लागि चिन्ताजनक छ । सन् २२ मा यो अनुपात ३.७४ रहेकोमा सन् २३ मा ३.७० र सन् २०२४ मा ३.५० मा रहेको छ । सामान्यतः १ भन्दा माथिको गियरिङलाई उच्च मानिन्छ, तर ३.५० को अनुपातले कम्पनी अत्यधिक ऋणमा निर्भर रहेको स्पष्ट गरेको छ । यसले व्याज भुक्तानीको दबाबलाई पनि देखाएको छ ।
ब्याज भुक्तानी क्षमता जनाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ पनि कम्पनीको वित्तीय स्वास्थ्यको एक कमजोर पक्ष हो । सन् २०२२ मा १.८१ रहेको यो सूचक सन् २०२३ मा घटेर १.७५ र सन् २०२४ मा झन घट्दै १.६१ मा आइपुगेको छ । ब्याज भुक्तानी गर्नै पनि मुस्किल अवस्थामा रहेको देखिएको छ ।
हाइड्रोपावरले ४ अर्ब ६६ करोड २० लाख रुपैयाँ ऋण लिनको लागि रेटिङ गरेको छ । यस अन्तर्गत दीर्घकालीन बैंक सुविधाका लागि ४ अर्ब ५८ करोड २० लाख र छोटो अवधिको बैंक सुविधाका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीका दीर्घकालीन बैंक सुविधाका लागि ‘बीबीबी माइनस’ र छोटो अवधिको बैंक सुविधाका लागि ‘ए–तीन’ ऋणाङ्क पुनः पुष्टि गरेको छ ।
आयोजनाको लागत अधिकाँश ऋणबाट वित्तीय हुन गएपछि पुँजी संरचना अत्यधिक ऋणभरित भएको छ, जसले दीर्घकालीन वित्तीय लचिलोपनमा प्रश्न उठाउँछ । पहाडी भू–भागमा बाढी, पहिरो तथा वर्षापछिका जलस्रोतको उतारचढावले आयोजनाको अवरोध र क्षति निम्त्याउन सक्ने इक्रा नेपालको प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्थिर ब्याजदर अवधि सकिएपछि बैंकले मासिक आधारमा तोक्ने दरमा प्रिमियम थपेर ब्याजदर परिवर्तन गर्ने भएकाले आगामी वर्षमा ब्याज भार बढ्ने जोखिम छ र कुल विद्युत् बिक्रीमध्ये १० प्रतिशत मात्र ‘लिने र तिर्ने’ शर्तमा भएकोले उक्त भागको भुक्तानी ढिलाइ हुँदा नगद प्रवाहमा असर पर्न सक्छ देखिएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा १०० अकिंत मूल्यमा ११८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१८ रुपैयाँमा ३० लाख ६ हजार २०२ कित्ता बराबरको ६५ करोड ५३ लाख ५२ हजार रुपैयाँ आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।