ग्रीन डेभलपमेन्ट बैंक र यूनाइटेड मोदीको साधारणसभा भोलि, लाभांश र हकप्रद प्रस्ताव

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा भोलि चैत २७ गते बस्दैछन्। कम्पनीहरूको छुट्टाछुट्टै स्थानमा बस्न लागेको सभाले विभिन्न प्रस्तावहरू पारित गर्नेछन्।
ग्रीन डेलभपमेन्ट बैंक
यस बैंकको बाह्रौं वार्षिक साधारणसभा बाग्लुङस्थित पिस प्यालेसमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
यूनाइटेड मोदी हाइड्रोपावर
यस कम्पनीको एघारौं वार्षिक साधारणसभा काठमाडौंको कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभाले यसअघि १ः१ को अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद शेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, हकप्रद निष्कासका बाँकी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र खोजेर सोमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा चैत ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।