धुवाँ र धुलोले ढाकिएको काठमाडौं, विश्वमै सबैभन्दा बढी प्रदूषित सहरको सूचीको अग्रस्थानमा

२६ चैत्र २०८१, मंगलवार ११:३०

काठमाडौं । वायुप्रदूषणको अवस्था चरम सीमामा पुगेपछि राजधानी काठमाडौं विश्वको अत्यधिक प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ।

स्विट्जरल्यान्डमा आधारित वायु गुणस्तर विश्लेषण संस्थाले आज बिहान ७:३० बजेको विवरण अनुसार काठमाडौंको वायुमापन सूचकांक (एक्यूआई) २६२ मापन गरेको छ, जुन सार्वजनिक स्वास्थ्यका लागि गम्भीर मानिन्छ।

अन्य सहरहरूमध्ये भारतको राजधानी दिल्ली १७९ सूचकांकसहित दोस्रो, भियतनामको हनोइ १७७ सहित तेस्रो, र पाकिस्तानको लाहोर १७२ सूचकांकसहित चौथो स्थानमा छन्।

विश्व स्वास्थ्य निकायका मापदण्डअनुसार ० देखि ५० बीचको एक्यूआई मात्र स्वच्छ वायुका रूपमा लिइन्छ।

अत्यधिक प्रदूषणले हवाई यातायातसमेत प्रभावित बनाएको छ। राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दृश्यता कमजोर भएका कारण केही आन्तरिक उडानहरू निर्धारित समयमा हुन सकेनन्।

समिट एयरको लुक्ला जाने उडान, यती एयरलाइन्सको पोखरा जाने तथा बुद्ध एयरका भरतपुर र पोखरा उडानहरू प्रभावित भएका छन्। यस्तै, यतीको अर्को पोखरा उडानसमेत निर्धारित समयभन्दा पछाडि सरेको छ।

यद्यपि, केही उडानहरू सफलतापूर्वक सम्पन्न भएका छन्। श्री एयरलाइन्सको हिमाल दृश्यावलोकन उडान तथा नेपाल एयरलाइन्सको रुकुमतर्फको उडान सञ्चालनमा आएको विमानस्थल स्रोतको भनाइ छ।

यसैबीच, वातावरणविद्हरूले अत्यधिक प्रदूषणको असरबाट बच्न सर्वसाधारणलाई सावधानी अपनाउन आह्वान गरेका छन्। मास्क प्रयोग, घरबाहिरको गतिविधिमा कमी र स्वास्थ्य सतर्कता अत्यावश्यक रहेको सुझाव दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*