बिना लेबल अटो पार्ट्स बेच्ने कम्पनीहरू कारबाहीमा

२५ चैत्र २०८१, सोमबार १८:१७

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको ठहर गर्दै काठमाडौँ उपत्यकाका पाँच कम्पनीमाथि जरिवाना तथा सुधारात्मक निर्देशन दिएको छ।

विभागले सोमबार गरेको अनुगमनका क्रममा न्यू प्रकाश अटो ट्रेडर्स, श्री एस.टी.सी. प्रा.लि., द कार मार्ट, वि.एस. इन्टरप्राइजेज र इभ नेपाल मोटर्स प्रा.लिलाई कारबाही गरेको हो।

ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्सलाई विभागका निरीक्षण अधिकृतले ५०,००० जरिवाना गरेका छन्। साथमा आवश्यक कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै लेबल नलगाई बिक्री गरिएको वस्तुहरू अब अनिवार्य रूपमा लेबलसहित मात्र बिक्री गर्नुपर्ने निर्देशन दिइएको छ।

तीनथानास्थित श्री एस.टी.सी. प्रा.लिबाट एक थान लेबल नलगाएको कार्बुरेटर नमूना परीक्षणका लागि संकलन गरिएको छ। उक्त कम्पनीलाई पनि तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ।

कुलेश्वरस्थित द कार मार्ट र त्रिपुरेश्वरस्थित वि.एस. इन्टरप्राइजेजले आवश्यक कागजातसहित विभागमा उपस्थित भई अबदेखि सबै वस्तुमा लेबल राखेर मात्र बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएपछि रोकिएको कारोबारलाई सुचारु गर्न अनुमति दिइएको छ।

त्यस्तै नक्सालस्थित इभ नेपाल मोटर्सले पनि विभागको निर्देशनअनुसार कागजात पेस गरेको र वस्तुमा लेबल राखेर बिक्री गर्न सहमति जनाएकाले त्यसको कारोबार पनि सुचारु गर्न दिइएको विभागले जनाएको छ।

विभागले उपभोक्ताको हित संरक्षण तथा पारदर्शी व्यापार सुनिश्चित गर्न बजार अनुगमन कार्यलाई नियमित रूपमा अघि बढाइने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*