मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय

२५ चैत्र २०८१, सोमबार १५:२७

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई अब कडाइका साथ नियमन गरिने बताएका छन्। सोमबार मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूसँग भएको छलफलमा मन्त्री दाहालले अवैधानिक रुपमा चलिरहेका सवारी साधनलाई नियन्त्रण गर्न गृह मन्त्रालयसँग समन्वय गरिने स्पष्ट पारे।

उनका अनुसार सडक तथा यातायात विभागको एक्लो प्रयासले मात्र यस्तो नियमन सम्भव नहुने भएकाले प्रहरी प्रशासनको सक्रिय सहकार्य आवश्यक छ। “मापदण्ड पालना नगरी सञ्चालनमा आएका गाडीहरूमा कारवाही गर्न खोज्दा प्रहरीको सहयोग नपाएको गुनासो आएको छ,” उनले भने, “अब गृह मन्त्रालयसँग मिलेर कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनेछौं।”

मन्त्री दाहालले सडक निर्माणका क्रममा यातायात आवागमनमा अवरोध नआओस् भन्ने उद्देश्यले वैकल्पिक रुट र डाइभर्सन व्यवस्थापनलाई प्राथमिकतामा राखिने जानकारी दिए। विशेषगरी बीपी राजमार्गको मर्मतलाई तीव्र बनाइएको भन्दै उनले त्यसको विकल्पका रूपमा प्रयोग हुने कान्ति लोकपथको स्तरोन्नति कार्यलाई समेत प्राथमिकता दिइएको उल्लेख गरे।

छलफलमा सहभागी यातायात व्यवसायी तथा मजदुरहरूले सवारीका इजाजतपत्र, फिटनेस परीक्षण, र मार्ग निर्धारण प्रक्रियामा देखिएका चुनौतीबारे आफ्ना धारणा राखेका थिए। मन्त्री दाहालले ती सुझाव र गुनासोलाई सम्बोधन गर्दै आगामी नीतिगत सुधारमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले समग्र यातायात व्यवस्थापन प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने उद्देश्यका साथ मन्त्रालयले विविध पक्षसँग छलफल गर्दै नीति निर्माणको काम अगाडि बढाइरहेको बताए।

सार्वजनिक यातायातमा देखिएको अव्यवस्था, मापदण्ड उल्लंघन र ट्राफिक व्यवस्थापनका चुनौती समाधान गर्न सरकारले ठोस कदम चाल्न लागेको यो प्रयासले नागरिक स्तरमा सकारात्मक संकेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*