पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

२५ चैत्र २०८१, सोमबार १३:०२

काठमाडौँ । पाँच महिनासम्म ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरिएको छ। विद्युत् आपूर्तिमा आएको स्थायित्वसँगै उद्योगको उत्पादन यथास्थितिमा फर्किएको हो।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, सिमेन्ट उत्पादनको लागि चाहिने विद्युत् अभावका कारण लामो समयदेखि उद्योग बन्द अवस्थामा रहेको थियो। चुनढुङ्गा पिसाइमा मात्रै दैनिक आठ मेगावाट विद्युत् खपत हुने हुँदा उत्पादन निरन्तरताका लागि स्थिर आपूर्ति अत्यावश्यक रहेको उनले बताए।

हालका लागि उद्योगले आफ्नो जगेडामा रहेको एक हजार ९०० मेट्रिक टन कोइलाको प्रयोग गर्दै उत्पादन पुनः सुरु गरेको छ भने आगामी चरणमा करिब चार हजार मेट्रिक टन कोइला खरिद गर्न बोलपत्र प्रक्रियाको तयारी भइरहेको जानकारी दिइएको छ।

हेटौँडा उपमहानगरपालिका–१० स्थित लामसुरेमा स्थापना भएको यो उद्योग विसं २०३३ मा सुरु गरिएको हो भने, औपचारिक उद्घाटन विसं २०४३ मङ्सिर २६ गते गरिएको थियो। प्रारम्भिक चरणमा झन्डै एक अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको उद्योग अहिले पनि राज्य स्वामित्वको मुख्य औद्योगिक प्रतिष्ठानको रुपमा कायम छ।

हाल उद्योगमा प्राविधिक, प्रशासनिक, लेखा, भण्डारण, व्यापार महाशाखा तथा मजदुर वर्ग गरी झन्डै १९५ जनालाई स्थायी रोजगारी प्रदान गरिएको छ। उत्पादन क्षमता दैनिक १८ हजार बोरा रहेको भए पनि हाललाई १२ हजार बोरा सिमेन्ट मात्र उत्पादन भइरहेको उद्योगले जनाएको छ।

उद्योग व्यवस्थापनले दीर्घकालीन रूपमा कच्चा पदार्थ, ऊर्जा र मानव स्रोतको सन्तुलित व्यवस्थापनमार्फत हेटौँडा सिमेन्टलाई पुनः प्रतिस्पर्धी बनाउने योजना अघि सारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*