राजनीतिक प्रतिशोधमा लामिछानेलाई निशाना बनाइएको आरोप, डोटी समितिको आक्रोश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति डोटीले पार्टी सभापति रवि लामिछानेमाथि पछिल्लो समयमा भएको गतिविधिलाई लिएर चिन्ता प्रकट गरेको छ। पार्टीले लामिछानेमाथि भएको घटनाक्रमलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ र यसले अन्तर्राष्ट्रिय मानव अधिकारको गम्भीर उल्लङ्घन र कानुनको गलत प्रयोग भएको ठहर गरेको छ।
जिल्ला समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सभापतिले देशको कानुनको पालना गरी अदालतले दिएको आदेशको सम्मान गर्ने घोषणा गरे पनि सरकारले अदालती प्रक्रियामा प्रभाव पार्ने गरी काम गरेको छ। यसले कानुनी राज्यको अवधारणालाई नै प्रश्नमा पारेको छ।’
जिल्ला समितिका अनुसार प्रहरीले बिना पक्राउ पुर्जी रातारात लामिछानेको निवाससम्म पुगेर फोटोकपी गरिएको पत्र लिएर उपस्थित हुनु र ‘अन्तिम इच्छा के हो’ भन्ने जस्ता अभिव्यक्तिले राज्य नै यस अभियानमा लागिपरेको संकेत गर्दछ।
पार्टीले देशमा व्याप्त राजनीतिक दोहोरो मापदण्डप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। दुई ठूला दलहरूबीचको हालको सहकार्यको कारण आफ्ना निकटका व्यक्तिहरू जति गल्ती गरे पनि जोगाउने प्रवृत्तिले वैकल्पिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निशानामा पारिएको आरोप लगाइएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पहिलेदेखि गाउँका जनतामा पार्टीगत मतभेद फैलाएर सामाजिक सद्भाव खल्बल्याउने दलहरू अहिले मिल्नुको कारण नै राजनीतिक संरक्षण हो। तर परिवर्तनको भावनाका साथ आएका कर्मचारी, जनप्रतिनिधि र प्रतिपक्षी दलका नेताहरूलाई नै लक्ष्य बनाउने कार्य अत्यन्तै निन्दनीय छ।’
जिल्ला समितिले चैत १५ गतेको आन्दोलनमा सरकारबाट नागरिकको सुरक्षामा चुक भएको समेत उल्लेख गरेको छ। उच्चस्तरीय छानबिन समिति गठन नगरी सरकारले आफ्नो कमजोरी छोप्न खोजेको भन्दै आपत्ति जनाइएको छ।
अन्त्यमा, विज्ञप्तिमा भनिएको छ कि सरकार विकास, समृद्धि र सुशासनमा प्रभावकारी ढंगले काम गर्न नसके पनि कम्तीमा कानुनी राज्यको अनुभूति जनतालाई दिलाउन सक्नुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति डोटीका सभापति केशव बलायरद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको मूल मान्यता विधिको शासनमा अडिग रहनु रहेको उल्लेख छ।