बुटवल पावरको ‘ब्रह्मलूट’: चलखेलको भुमरीमा डुबे लगानीकर्ता, भ्रमको खेतीले लगानी जोखिममा

२५ चैत्र २०८१, सोमबार १२:०२

काठमाडौँ । बुटवल पावर कम्पनीले ‘एफपिओ’ को नाममा लगानीकर्तालाई बर्बाद बनाउने रणनीति अपनाएको खुलेको छ । दोहोरो निर्णय अलमलिएको प्रक्रिया र अन्ततः निर्णय नै उल्ट्याएर कम्पनीले लगानीकर्ताको विश्वासमाथि ठुलो कुठाराघात गरेको छ । कम्पनीले योजनाबद्ध रूपमा शेयर मूल्य उचालेर लगानीकर्ताबाट पैसा उठाउने प्रयास गरेको तर अन्तिम समयमा एफपिओ रद्द गरेर बेइमानी गरेको प्रमाण खुलेको छ ।

बुटवल पावरको सञ्चालक समितिले २०८० मंसिर २९ गते बसेको बैठकमा एफपिओ निष्कासन गर्ने निर्णय ग¥यो । कम्पनीले १०० रुपैयाँ दरमा एक करोड कित्ता एफपिओ ल्याउने बताएको थियो, साथै ५ प्रतिशत नगद लाभांश दिने निर्णय पनि सोही बैठकबाट गरियो । यो सूचना सार्वजनिक भएलगत्तै लगानीकर्ता उत्साहित भए, जसको प्रभाव शेयर मूल्यमा तुरुन्त देखियो । एफपिओको आशामा बजारमा माग बढ्दै गयो ।

एफपिओको चर्चा सुरु भएदेखि नै लगानीकर्ताले बुटवल पावरमा आस्था देखाउँदै शेयर खरिद गर्न थाले । कम्पनीको शेयरमा लगातार माग बढ्यो, मूल्य बढ्यो र बजारमा कृत्रिम उत्साह देखिन थाल्यो । २०८० को पुस २९ गतेको ३१औं बार्षिक साधारण सभाले एफपिओलाई अनुमोदनसमेत ग-यो । यसपछि लगानीकर्ता झनै ढुक्क भए कि कम्पनीले अब छिट्टै एफपिओ ल्याउनेछ ।

तर, एक वर्ष बित्दा पनि एफपिओ प्रक्रिया अघि बढेन । बरु कम्पनीले अर्को वर्ष अर्थात् २०८१ पुस २८ गते ३२औं वार्षिक साधारण सभामा एफपिओमा प्रिमियम दरमा ल्याउने प्रस्ताव पेश ग-यो । यस अनुसार कम्पनीले १०० रुपैयाँको शेयरमा १०६.२९ रुपैयाँ प्रिमियम थप्दै प्रतिकित्ता २०६.२९ रुपैयाँ कायम गरी एफपिओ ल्याउने बतायो ।

यसरी दुईवटा साधारण सभाबाट पारित भइसकेको एफपिओ योजना अन्ततः २०८१ चैत २२ गतेको सञ्चालक समितिको बैठकबाट रद्द गरियो । कम्पनीले एफपिओ निष्कासन प्रक्रिया नै स्थगित गर्ने निर्णय गर्दै नयाँ योजना अनुसार चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा जुटेको छ । कम्पनीले एफपिओको नाममा एक वर्षसम्म बजारमा भ्रम फैलायो लगानीकर्तालाई आसा देखायो र शेयर मूल्य कृत्रिम रूपमा बढायो । तर अन्तिममा आफ्नै निर्णय उल्ट्याएर सम्पूर्ण योजनालाई अविश्वसनीय बनाइदियो । यस्तो हर्कतले कम्पनीप्रति लगानीकर्ताको भरोसा गुमाएको छ ।

एफपिओको आशामा बुटवल पावरमा लगानी गरेका सयौं लगानीकर्ता अहिले मारमा परेका छन् । जस समयमा लगानीकर्ताले शेयर खरिद गरे, त्यसको आधार नै एफपिओ थियो । कम्पनीले एफपिओ ल्याउने घोषणाको आधारमा मूल्य बढेको थियो, त्यसै समयमा धेरै लगानीकर्ताले शेयर किनेर आफ्नो पूँजी लगानी गरे । तर अहिले आएर एफपिओ योजना नै खारेज भएपछि उनीहरूको लगानी डुबेको छ । कम्पनीले पूर्वघोषित र बारम्बार पारित योजना कार्यान्वयन नगरी ठुलो बेइमानी गरेको स्पष्ट देखिन्छ । यो घटनाले शेयर बजारमा पारदर्शिताको सवाल उठाएको छ, साथै नियामक निकायहरूको निष्क्रियता पनि प्रश्नमा परेको छ ।

धितोपत्र बोर्ड (सेबोन) र विद्युत नियमन आयोगजस्ता नियामक निकायहरूले बुटवल पावरको यस किसिमको चलखेलमा कुनै हस्तक्षेप नगरेको देखिन्छ । कम्पनीले लगानीकर्तालाई भ्रममा पारेर एक वर्षसम्म खेलवाड गरे पनि त्यसविरुद्ध कुनै चेतावनी वा कारबाही नहुनु नियामक निकायकै कमजोरी हो । नियामकको मौनता सधैंजसो लगानीकर्ताको हानीतर्फ उन्मुख भएको छ । यस्ता कम्पनीहरूलाई समयमै कारबाही नगरेमा पूँजी बजारप्रति आम लगानीकर्ताको आस्था गुमिने खतरा बढ्नेछ ।

अब प्रश्न उठ्छ-कम्पनीले गरेको घोषणा र व्यवहारबीचको असमानताको जिम्मेवारी कसले लिने? एफपिओको आशामा लगानी गरेका लगानीकर्ताको पूँजी डुबेको छ । के कम्पनीले उनीहरूलाई क्षतिपूर्ति दिनेछ? के सेबोनले कुनै स्पष्ट मार्गनिर्देशन दिनेछ?

यस्ता प्रकरणले नेपाली पूँजी बजारलाई अस्थिर र अपारदर्शी बनाउने खतरा थपिरहेका छन् । जबसम्म कम्पनीहरू आफ्नै निर्णयलाई पनि कार्यान्वयन नगरी उल्ट्याउन सक्छन्, तबसम्म लगानीकर्ता सुरक्षित छैनन् । बुटवल पावर कम्पनीले एफपिओको नाममा लगानीकर्तालाई ठगेको स्पष्ट प्रमाण भेटिएको छ । बारम्बार निर्णय गरेर त्यसलाई कार्यान्वयन नगरेर कम्पनीले बजारमा मूल्य उचाल्ने मात्र काम ग-यो । यस्तो कार्य ‘ब्रह्मलूट’ भन्दा कम छैन ।

अब कम्पनीको हकप्रद समेत आउँछ या आउँदै प्रश्न उठ्न थालेको छ । कम्पनीको अध्यक्ष पद्मा ज्योति हुन् भने प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारीमा उत्तर कुमार श्रेष्ठ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*