पञ्चकन्या समूहद्वारा कविता नेपालीलाई आर्थिक सहयोग

काठमाडौँ । पञ्चकन्या समूहले महिला सशक्तिकरण र साहसीक कार्यको प्रवर्द्धन गर्दै प्रसिद्ध फिटनेस आइकन र कलाकार कविता नेपालीलाई एभरेस्ट र लोत्से हिमालको आरोहणमा आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग पञ्चकन्या समूहको सामाजिक उत्तरदायित्व पहलको एक हिस्सा हो, जसले नेपाली महिलाको सशक्तीकरण र साहसिक प्रयासलाई प्रोत्साहन दिने उद्देश्य राख्दछ।
कविता नेपाली २०८१ सालको ३० चैतमा एभरेस्ट र लोत्से हिमालको आरोहण गर्ने तयारीमा छन्। पञ्चकन्या समूहले उनलाई न केवल आर्थिक सहयोग गरेको छ, तर उहाको बहुआयामिक प्रतिभा र साहसिक कार्यको सराहना गर्दै यस प्रायोजनमा समर्थन जनाएका छन्। कम्पनीका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले भने, ‘कविता नेपाली केवल एक कलाकार मात्र होइन, उहाले नेपाली महिलाको स्थायी शक्ति र राष्ट्रिय गौरवको प्रतीक बनेकी छन्।’
पञ्चकन्या समूहले महिलाहरूलाई साहसिक कार्य र सामाजिक सन्देशको माध्यमबाट प्रेरित गर्ने आफ्नो परम्परा जारी राख्दै, २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने महिला टोलीलाई पनि सहयोग गरेको थियो। यस अघि पनि, नेपालका साहसी महिलाहरूले पितृसत्तात्मक पुरातनवादी सोचलाई चुनौती दिँदै, विश्व मञ्चमा नेपालको गौरव बढाएका छन्। पञ्चकन्या समूहको योगदानले यस्ता महिलाहरूलाई प्रोत्साहन पुर्याउने विश्वास राख्दछ।
यो साझेदारी पञ्चकन्या समूहको संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्सा हो, जसले महिला सशक्तिकरण, शिक्षा, वातावरण, स्वास्थ्य, र सिप विकासमा दिगो प्रभाव पार्ने उद्देश्य राख्दछ। पञ्चकन्या समूहले सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रहरूमा आफ्नो प्रतिबद्धता प्रकट गर्दै, नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा काम गरिरहेको छ।
‘कविताको यात्रा केवल आरोहण होइन, यो संसारभरिका साहसी व्यक्तिहरूका लागि एक सन्देश हो’ पञ्चकन्याका प्रवक्ताले भने’हामी उनलाई सहयोग र समर्थन गर्न पाउँदा गर्व महसुस गर्दैछौं, किनकि उहाले नेपालको कथा र भावनालाई विश्वको उच्च शिखरमा पुर्याउनेछिन्।’