‘पाथिभरामा केबलकार खारेज नभएसम्म आन्दोलन जारी छ’

काठमाडौँ । पाथिभरा (मुक्कुम्लुङ) क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामा क्षति पुर्याउने भन्दै केबलकारको विरोधमा रहेको ‘नो केबलकार’ पक्षले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन्। उनीहरूले केबलकार खारेज नभएसम्म विभिन्न चरणमा आन्दोलन जारी राख्ने स्पष्ट बताएका छन्।
फुङलिङ–१० काफ्लेपाटीदेखि पाथिभरा मन्दिर छेउसम्म २.७ किलोमिटर दूरीमा केबलकार निर्माणको प्रस्ताव गरिएको छ। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको कम्पनीले उक्त केबलकार निर्माणको जिम्मा लिएको छ। तर स्थानीय लिम्बू समुदायले पाथिभरा क्षेत्रलाई मुक्कुम्लुङ मुन्धुमी स्थलका रूपमा मान्यता दिँदै धार्मिक महत्वमा हस्तक्षेप भएको भन्दै तीव्र विरोध जनाइरहेका छन्।
आन्दोलनरत पक्षका अनुसार उनीहरू शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् तर स्थानीय, प्रदेश र संघीय सरकारले अहिलेसम्म कुनै चासो नदिएको गुनासो छ। ‘हामी शान्तिपूर्ण आन्दोलनमा छौं, तर सरकारका कुनै तहले हाम्रो आवाज नसुनेसम्म संघर्ष रोकिँदैन’ आन्दोलनमा सहभागी एक अगुवाले भने।
‘नो केबलकार’ पक्षले पाथिभरा केवल पर्यटनको केन्द्र मात्र नभई लिम्बू समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचान भएको ठाँउ भएकाले त्यसलाई जोगाउन सम्पूर्ण लिम्बू समुदाय एकजुट हुनुपर्ने समय आएको बताएका छन्। ‘हाम्रो इतिहास मेट्न खोजियो भने हामी सहने छैनौं’ आन्दोलनकारीहरू बताउँछन्, ‘अब जनताले हरेक नेताको दिमागमा १० रेक्टरको भूकम्प लैजाने छन्।’
उनीहरूले पाथिभरा क्षेत्रमा प्रकृति र संस्कृतिको संरक्षणका लागि आन्दोलन गरिरहे पनि राज्यबाट कुनै सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। हालसम्म आन्दोलनकै कारण निर्माण कार्य रोकिएको छ, तर उनीहरूले चेतावनी दिएका छन्– जबसम्म केबलकार खारेज हुँदैन, तबसम्म आन्दोलनको क्रम जारी रहनेछ।
यसरी ‘नो केबलकार’ पक्षले पाथिभरा क्षेत्रको मौलिकता जोगाउन अभियानलाई व्यापक बनाउँदै लगेका छन्। उनीहरूको माग छ– ‘हाम्रो मुन्धुमी स्थलमा व्यापारिक परियोजना होइन, पहिचानको संरक्षण हुनु पर्छ।’
सर्वसाधारण माथि गोलि प्रहार गर्ने सिडियो र प्रहरी प्रमुखलाई कानुनी दायरामा ल्याउने उनीहरुको चेतावनी छ ।