भीषण आँधीवेरीले अमेरिकामा १६ जनाको ज्यान गयो, टेनेसीमा मात्र १० को मृत्यु

२४ चैत्र २०८१, आईतवार १३:०१

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी भागमा आएको प्रचण्ड आँधीवेरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ। राष्ट्रिय मौसम सेवाले शनिबार नै आँधीबेहरी र आकस्मिक बाढीको चेतावनी जारी गरेसँगै, विभिन्न राज्यमा जनधनको ठूलो क्षति भएको छ।

अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले दर्जनौँ चक्रवात उत्पन्न गराउनुका साथै दर्जनौँ संरचना ध्वस्त बनाएको छ। सडकहरू जलमग्न भएको अवस्थामा छन् भने विद्युत आपूर्ति अवरुद्ध भएको छ।

टेनेसीको पश्चिमी क्षेत्रमा मात्र १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले जानकारी दिएका छन्। उता, केन्टुकी राज्यमा बाढीका कारण एक बालकसहित दुई जनाले ज्यान गुमाएका छन्। केन्टुकीका गभर्नर एन्डी बेशियरले बाढीको स्तर रेकर्ड कायम गरेको बताउँदै नागरिकलाई जल क्षेत्रबाट टाढा रहन र अनावश्यक यात्रा नगर्न अपिल गरेका छन्।

मिसौरी राज्यमा दुई जनाको र इन्डियाना राज्यमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अर्कान्सासको लिटिल रक सहरस्थित एक घरमा पाँच वर्षीय बालक मृत फेला परेका छन्। अर्कान्सास र टेनेसीमा एक लाखभन्दा बढी उपभोक्ता आइतबार बिहानसम्म विद्युत सेवाबाट बञ्चित भएका छन्। ट्र्याकिङ साइट ‘पावर आउटेज डट कम’ का अनुसार विद्युत संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका धेरै क्षेत्रहरू पुनः सञ्चालनमा आउन अझै समय लाग्नेछ।

ट्वीटर र फेसबुक जस्ता प्लेटफर्महरूमा साझा गरिएका तस्वीर र भिडियोहरूले आँधीबेहरीको भयावहता प्रस्ट देखाउँछन्। कैयौँ घर भत्किएका छन्, रुख ढलेका छन्, बिजुलीका पोल र तारहरू छतिग्रस्त भएका छन् भने सडकमा कारहरू पल्टिएका देखिन्छन्।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्याली क्षेत्रमा आइतबार पनि मध्यमदेखि गम्भीर आँधीबेहरीको सम्भावना रहेको उल्लेख गर्दै आकस्मिक बाढीका घटनाहरू बढ्न सक्ने चेतावनी दिएको छ। जनजीवन र भौतिक संरचनामा अझै क्षति पुग्न सक्ने खतरा रहेको विज्ञप्तिमा उल्लेख छ।

वातावरण विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा ग्लोबल वार्मिङका कारण मौसम प्रणालीहरू थप अव्यवस्थित भएका छन्। पानीको चक्रमा आएको परिवर्तनले चरम मौसमी घटना—जस्तै चक्रवात, आँधीबेहरी र बाढी— झनै घातक बनाउँदै लगेको उनीहरूको निष्कर्ष छ।

एजेन्सिको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*