वायु प्रदूषणले राजधानीवासीको श्वास नै जोखिममा, निष्क्रिय सरकारमाथि चर्किंदो प्रश्न

काठमाडौँ । केही समयदेखि मुलुकभर वायुप्रदूषणको समस्या बढ्दो क्रममा छ । विशेषगरी राजधानी काठमाडौँमा यसको असर चरम अवस्थामा पुगेको छ । आइतबार विहान वातावरण निगरानी संस्था ‘आईक्यू एयर’ द्वारा सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौँ हाल विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । लगातार ७औं दिनसम्म काठमाडौँको बायु प्रदूषित शहरको पहिलो नम्बरमा परेको हो । हावामा घुलिएको धुलो र धुँवाले यहाँका बासिन्दाको स्वासप्रश्वासमा प्रत्यक्ष असर पार्न थालेको छ ।
आज काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २२६ पुगेको छ, जुन अत्यन्तै ‘अस्वस्थकर’ श्रेणीमा पर्दछ । यस्तो सूचकांकले विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि गम्भीर स्वास्थ्य जोखिम उत्पन्न गर्छ । अझ गम्भीर कुरा त के छ भने हावामा रहेको सूक्ष्म कण पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणाभन्दा बढी रहेको छ ।
काठमाडौँका बासिन्दाले हालस्वास फेर्ने हावा अक्सिजनभन्दा बढी विषाक्त तत्व बोकिरहेको अनुभव गर्न थालेका छन् । कतिपय बासिन्दाले मजाकमै भन्ने गरेका छन् ‘अहिले श्वास फेर्नु भन्दा नफेर्नु नै ठिक होला ।’ तर यो अभिव्यक्ति कुनै ठट्टा नभई राजधानीको डरलाग्दो यथार्थ बन्दै गएको छ।
प्रदूषणको प्रमुख कारणको रूपमा धूलो, धुँवा र डढेलो प्रमुख छन् । पछिल्लो समय वर्षा नहुनु, मुलुकका विभिन्न स्थानमा लागेको डढेलोबाट उत्पन्न धुँवा र सवारी साधन तथा निर्माण क्षेत्रबाट निस्किएको धूलो काठमाडौँको वायुमण्डलमा थुप्रिएको छ । वातावरणविद्हरूका अनुसार नेपालको मुख्य सहरमा सवारीसाधनको संख्या हरेक वर्ष तीव्र रूपमा वृद्धि भइरहेको छ । ती सवारी साधनबाट निस्किने कार्बन, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड लगायतका प्रदूषक ग्यासहरू हावामा मिसिएर स्वासप्रश्वास प्रणालीमा दीर्घकालीन असर पुराइरहेको छ ।
त्यस्तै, योजना र अनुगमनविना भइरहेका सडक विस्तार र निर्माण कार्यहरू पनि प्रदूषण वृद्धि गराउने प्रमुख कारक हुन् । दैनिक सडकमा उड्ने धूलो, खुला ठाउँमा राखिएका निर्माण सामाग्री, असंगठित फोहोर व्यवस्थापन लगायतका कारणले उपत्यकाको हावा दिनप्रतिदिन विषालु बन्दै गएको छ । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या पनि सामान्य छैनन् । प्रदूषणका कारण दम, एलर्जी, ब्रोन्काइटिस, सीओपीडी, मुटुका रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ्दो छ । स्वास्थ्य विशेषज्ञहरू भन्छन् – ‘पीएम २.५ जस्ता सूक्ष्म कणहरू श्वासमार्फत शरीरभित्र पस्दा ती रक्तवाहिनीसम्म पुगेर गम्भीर असर पुर्याउँछन्।’
वातावरणीय अवस्था दिनदिनै बिग्रिँदै जाँदा सरकारी तहमा भने आवश्यक सतर्कता र नीति कार्यान्वयनमा कमजोरी देखिएको छ । हावाको यस्तो विषाक्त स्थितिमा जनस्वास्थ्यलाई सुरक्षित राख्न सरकार तथा स्थानीय निकायहरूले ठोस रणनीति ल्याउनुपर्ने आवश्यकता बढेको छ । तर, अहिलेसम्म न त आगलागी नियन्त्रणमा ठोस पहल भएको छ, न त निर्माणजन्य प्रदूषण व्यवस्थापनमा कुनै प्रभावकारी कदम चालिएको छ ।

काठमाडौं
यसबीच, स्वास्थ्य मन्त्रालयले वायु प्रदूषणको खतरनाक स्थितिलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सकेसम्म घरमै बस्न, बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न र बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष ध्यान दिन अनुरोध गरेको छ । एक विज्ञप्तिले नै आफ्नो कर्तब्य पुरा भएको ठान्ने स्वास्थ मन्त्रालय बायु प्रदूषण कम कसरी गर्ने भन्ने तिर ध्यान दिएको देखिदैन ।
देशभर वायु प्रदूषणको अवस्था थाहा पाउन स्थापना गरिएका दर्जनौं अनुगमन केन्द्रमध्ये अधिकांश निष्क्रिय छन् । वातावरण विभागको ड्यासबोर्डमा सूचीकृत २९ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये केवल ११ वटाले मात्र हालको अवस्था देखाइरहेका छन् भने बाँकी १८ वटाबाट कुनै तथ्यांक प्राप्त भएको छैन । करोडौं खर्चेर जडान गरिएका उपकरणहरू सञ्चालनमै नआउँदा प्रमुख शहरहरूमा प्रदूषणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको छ ।
वायुमानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भए पनि सरकारले प्रदूषण मापनको व्यवस्थापनमा अपेक्षित ध्यान नदिएको देखिन्छ । सहर सहरमा राखिएका मापन केन्द्र बिग्रिएर थन्किँदा जनस्वास्थ्यमा पर्ने प्रभावबारे गम्भीर चासो व्यक्त गरिएको छ । राजधानीका पुल्चोक र कीर्तिपुरदेखि लिएर विराटनगर, पोखरा, लुम्बिनी, दाङ, सुर्खेतजस्ता स्थानका केन्द्र बन्द अवस्थामा रहेका छन् ।

ललितपुरको बुढीदेबी डाँडामा लागेको आगलागी
सरकारले पेट्रोलियम पदार्थमा अतिरिक्त शुल्कको रूपमा प्रदूषण शुल्क उठाइरहेको भए पनि त्यो रकम कहाँ खर्च भइरहेको छ भन्नेमा पारदर्शिता छैन । प्रत्येक लिटर डिजेल र पेट्रोलमा संकलन गरिने शुल्कबाट राज्यको खातामा अर्बौं रुपैयाँ जम्मा हुने गरेको छ । तर वातावरण सुधारमा देखिने ठोस पहल नहुँदा ती शुल्क केवल औपचारिकता जस्तै देखिन्छन् ।
महालेखा परीक्षकको कार्यालयले समेत यस्ता शुल्कको उपयोगबारे पटक–पटक प्रश्न उठाउँदै आएको छ । जनस्वास्थ्य, नीति कार्यान्वयन र वातावरणीय उत्तरदायित्वका हिसाबले यो गम्भीर कमजोरी हो, जसमा राज्यको बेवास्ता स्पष्ट देखिन्छ । प्रदूषण नियन्त्रणमा सरकार गम्भीर नबने नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने निश्चित छ ।

कपिलवस्तुमा शनिबार गहुँबाली जलेर नष्ट
विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो नम्बरमा भारतको राजधानी नयाँ दिल्ली छ । तेस्रो स्थानमा भियतनामको हानोई र चौथो पाकिस्तानको लाहोर सहर रहेको छ । त्यसपछि भारतको मुम्बई, बंगलादेशको ढाका, चीनको वुहान, सांघाई तथा चोङकिङ, थाइल्याण्डको चियाङ माई र कुवेत सिटी पनि प्रदुषित सहरको सूचीमा रहेको छ ।