अटोमोबाइल क्षेत्रको अनुगमन तीव्र, चार अटो पार्टस कम्पनीको बिक्री वितरण रोक्का

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनसम्बन्धी व्यापारिक क्रियाकलापमा निगरानी कडाइ गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल क्षेत्रमा पछिल्लो समय अनुगमन तीव्र बनाउँदै आएको छ।
गत एक सातादेखि विभागले सवारीसाधनका शोरुम, मोटरसाइकल तथा स्कुटर बिक्री केन्द्र, स्पेयर पार्टस पसल र सर्भिस सेन्टरहरूमा निरन्तर रूपमा अनुगमन गरिरहेको छ। उपभोक्ताको हकहितको संरक्षण गर्ने उद्देश्यले अनियमितता भेटिएका व्यवसायिक इकाइहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
यसअघि तीन सवारीसाधन कम्पनीको बिक्री रोक्का गरिसकेको विभागले हालै फेरि चार अटो पार्टस विक्रेतालाई पनि बिक्री वितरणमा रोक लगाएको छ। विभागले चैत २१ गते पत्राचार गर्दै ती कम्पनीहरूलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो।
बिक्री रोक्का गरिएका कम्पनीहरूमध्ये अटो एक्सपोर्ट (काठमाडौं–१४) र भाव्या ट्रेडर्स (काठमाडौं–१३) लाई तत्काल बिक्री वितरण नगर्न सूचित गरिएको छ भने कार क्वीन (काठमाडौं–१४) र बज्र अटो पार्टस (काठमाडौं–१४) लाई तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ।
विभागले सवारीसाधन क्षेत्रको अनियमितता नियन्त्रण गर्न निरन्तर अनुगमन जारी रहने जानकारी दिएको छ। उपभोक्ता हितविपरीत क्रियाकलाप गर्ने व्यवसायिक संस्थामाथि कारबाही प्रक्रिया अझ कडा बनाइने विभागको भनाइ छ।