नेपाली निर्माण सामग्रीको भारत निर्यात सहज, ‘बीआईएस’ प्रमाणपत्र नवीकरण

२२ चैत्र २०८१, शुक्रबार १८:२७

काठमाडौँ । भारतले केही समयदेखि अवरुद्ध गरेको नेपाली निर्माण सामग्रीको निर्यात पुनः सहज बनेको छ। सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका वस्तुका लागि आवश्यक ‘बीआईएस’ (भारतीय मानक ब्यूरो) प्रमाणपत्र नवीकरण भएसँगै यी उत्पादनको व्यापार पुनः सुचारु हुने भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कूटनीतिक प्रयासपछि प्रमाणपत्र नवीकरण प्रक्रिया सम्पन्न भएको हो। मन्त्री भण्डारीले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी पीयूष गोयलसँग यस विषयमा छलफल गर्दै नेपाली वस्तुको निर्यात प्रवर्द्धनमा विशेष जोड दिएका थिए।

गत पुस २७ र २८ गते सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा पनि ‘बीआईएस’ प्रमाणपत्र नवीकरण तथा निर्यात प्रक्रियालाई सरल बनाउन विशेष छलफल भएको थियो। उक्त बैठकमा नेपालले निर्यात सहज बनाउन प्राथमिकताका साथ आग्रह गरेपछि भारतीय पक्षले सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएको थियो।

भारत सरकारले आफ्नो बजारमा बिक्री हुने सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयरजस्ता सामग्रीमा ‘बीआईएस’ अनिवार्य गरेको छ। २०२५ फेब्रुअरी २८ मा भारत सरकारद्वारा जारी राजपत्रमा स्वदेशी तथा आयातीत वस्तुहरूका लागि ‘बीआईएस’ अनिवार्य गरिएको उल्लेख छ।

भारतबाट प्रमाणपत्र नवीकरणको प्रक्रिया लम्बिँदा नेपालबाट पाँच महिनासम्म सिमेन्ट र एक महिनासम्म प्लाइउड निर्यात रोकिएको थियो। यसले नेपाली निर्यातकर्तालाई समस्या परेपछि उनीहरूले पनि भारतमा पहल गरेका थिए। अब प्रमाणपत्र नवीकरण भइसकेपछि निर्माण सामग्रीको निर्यात सहज हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*