भारत–नेपाल सम्बन्धलाई उच्च प्राथमिकता: प्रधानमन्त्री मोदी
२२ चैत्र २०८१, शुक्रबार १७:१०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिएको बताएका छन्। थाइल्याण्डको बैंककस्थित माडारिन ओरियन्टल होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक रहेको उनको भनाइ छ।
सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षमा छलफल गर्यौँ, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति, र डिजिटल प्रविधि जस्ता क्षेत्रमा ध्यान केन्द्रित गर्यौँ।’
बिम्स्टेक शिखर सम्मेलनका उपलब्धिहरूमा विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातसम्बन्धी विषयमा पनि छलफल भएको उनले उल्लेख गरे।
प्रधानमन्त्री ओली र मोदीबीच करिब ४५ मिनेट एक्लाएक्लै वार्ता भएको बताइएको छ।