वर्षदिनमा मारुती सिमेन्टको व्यापार ४ अर्ब ७० करोड, आइपीओले वित्तीय स्थिति थप सुदृढ गर्ने अपेक्षा

२२ चैत्र २०८१, शुक्रबार १३:५३

काठमाडौँ । नेपाली सिमेन्ट उद्योगको यात्रा विशेष चमत्कारी रहेको छ, जहाँ एक समय विदेशी सिमेन्टको दबदबा थियो । व्यवसायीहरूले भारतीय सिमेन्ट आयात गरेर नेपाली बजारको माग पूरा गर्थे। तर, अहिले स्थिति बदलिएको छ। नेपाली उद्योगीहरू अहिले विदेशी सिमेन्ट ब्राण्डसँग प्रतिस्पर्धा गर्दै स्वदेशी सिमेन्ट निर्यात गरेर डलर कमाइरहेका छन्। यसमा प्रमुख योगदान २०५१ सालमा स्थापना भएको मारुती सिमेन्ट उद्योगको हो, जुन निजी क्षेत्रको पहिलो ग्रिनफिल्ड सिमेन्ट उद्योगका रूपमा उभिएको थियो। नन्द किशोर राठीद्वारा स्थापित यो उद्योगले तीन दशकीय अवधिमा विभिन्न चुनौती र अवसरहरू पार गर्दै आफूलाई परिमार्जित र उच्चस्तरीय प्रतिस्पर्धामा उभ्याउन सफल भएको छ। आज मारुती सिमेन्ट नेपाली सिमेन्ट उद्योगका प्रमुख नामहरूमध्ये एक बनेको छ।

मारुति नेपालका प्रमुख सिमेन्ट उत्पादक मध्ये एक हो, जुन १९९४ मा स्थापना भएको थियो । सिराहाको गोलबजारमा स्थित यो कम्पनीले सिमेन्ट र क्लिन्कर उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ र नेपाली निर्माण उद्योगमा यसको प्रगति र सफलताको कथा अत्यन्त प्रेरणादायक छ । सुरुआतमा मारुति सिमेन्टले ६०० टन प्रतिदिन क्लिन्कर उत्पादन क्षमता र ५०० टन प्रतिदिन ग्राइन्डिंग क्षमता सहित आफ्नो सञ्चालन सुरु गरेको थियो । समयको साथ, कम्पनीले आफ्नो क्षमता विस्तार गर्दै हाल १,५०० टन प्रतिदिन क्लिन्कर र २,००० टन प्रतिदिन ग्राइन्डिंग क्षमतासम्मको स्तरमा पुगेको छ ।

यसका साथै, कम्पनीले आफ्नो उत्पादन क्षमता थप बढाउने योजनासमेत अघि बढाएको छ । कम्पनीको क्लिन्कर उत्पादन क्षमता ३,३०० टन प्रतिदिन र ग्राइन्डिंग क्षमता ४,००० टन प्रतिदिन पु-याउने उद्देश्य राखिएको छ । मारुति सिमेन्टले मारुति ब्राण्ड अन्तर्गत प्रमुखः अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट उत्पादन गर्दछ र भविष्यमा पोर्टल्यान्ड पोजोलेना सिमेन्ट समेत उत्पादन गर्ने योजना बनाएको छ ।

सोहि सिमेन्ट उद्योगले वर्षदिनमा साढे ४ अर्बभन्दा बढीको व्यापार गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२४ मा ४ अर्ब ७० करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गरेको व्यापार सन् २०२३ को तुलनामा ४६ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२३ मा कम्पनीले ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । मारुतीले सन् २०२२ मा ४ अर्ब ९७ करोड, सन् २०२१ मा ६ अर्ब ८६ करोड र सन् २०२० मा ५ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको इक्राको प्रतिवेदनमा उल्लेख गरेको छ ।

कम्पनीले सञ्चालन नाफामा स्थिरता राखेको छ, यद्यपि पछिल्ला वर्षहरूमा यसको नाफामा गिरावट आएको छ । सन् २०२० मा सञ्चालन नाफा मर्जिन २० प्रतिशत थियो, जुन सन् २०२१ मा २१ प्रतिशत पुगेको थियो । तथापि, यो अनुपात सन् २०२२ को ११ प्रतिशत र २०२३ ७ प्रतिशतमा घट्यो । सन् २०२४ मा भने यो मर्जिन ९ प्रतिशतको सुधार देखिएको छ ।

यता, कम्पनीले आफ्नो ऋण र ईक्विटी अनुपातमा सन्तुलन राखेको छ, जसले कम्पनीको वित्तीय सुदृढता र ऋण लिने क्षमता संकेत देखिएको छ । सन् २०२० मा कम्पनीको अनुपात ०.३६ थियो, जुन ०.७१ मा बढेर सन् २०२२ मा पुगेको थियो । त्यसपछि यो अनुपात सन् २०२३ र २०२४ मा क्रमशः ०.६८ र ०.७२ कायम रह्यो । कुल बाह्य दायित्व र शुद्ध नेट वर्थ अनुपातमा उतारचढ़ाव देखिएको छ, जुन सन् २०२३ मा १.०१ सम्म पुगेको थियो । उक्त अनुपातमा २०२० मा ०.७२ र २०२१ मा ०.५७ को सुधार भएको थियो र सन् २०२४ मा ०.९९ मा रहेको छ ।

कम्पनीले प्रतिकित्ता ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता बराबरको ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागेको छ । आईपीओ निष्कासनसँगै यसको वित्तीय स्थिति सुदृढ हुनेछ र कम्पनी थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*