खोस्टो देखाएकै भरमा राष्ट्र बैंकमा पाँच बर्ष बिताएर बाहिरिँदै गभर्नर महाप्रसाद अधिकारी, विकृतिका अगुवाको विदाई आज

नवराज न्यौपाने
२२ चैत्र २०८१, शुक्रबार ०९:४३

काठमाडौं । नैतिकता, इमान्दारिता र व्यवसायिकताको मानकलाई कतिलाई मान्ने ? देशको केन्द्रीय बैंकका गभर्नर आजबाट विदा हुँदैछन् । तर उनले योग्यता नै नपुगी पाँच बर्षअघि खाएको जागिर पूरै समय पचाएर छाड्न सफल भएका छन् । महाप्रसाद अधिकारीको लागि यो ऐतिहासिक अवसर हो भने सुशासन, कानुनी राज्यको लागि धज्जी अनि दण्डहीनताको पराकाष्ठा ।

महाप्रसाद अधिकारीलाई २०७६ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो । व्यवस्थापनमा स्नातक तह मात्रै उत्तीर्ण गरेका उनले भारतीय बोर्डबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका थिए । एक समय त्रिभुवन विश्वविद्यालयले स्नातक तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेकालाई स्नातकोत्तर सरहको समकक्षता प्रदान गर्ने व्यवस्था थियो । सोही व्यवस्था अन्तर्गत महाप्रसाद अधिकारीले स्नातकोत्तर तहको समकक्षता लिए । सोही समकक्षतालाई महाप्रसाद अधिकारीले आफूले स्नातकोत्तर तह उत्तीर्ण गरेको भन्दै त्रिविविले दिएको खोस्टो हल्लाउँदै पाँच बर्ष गभर्नर पद पड्काएर आजबाट विदा हुँदैछन् ।

२०७६ साल चैत्र २४ गते गभर्नर पदमा नियुक्त भएका अधिकारीका विरुद्धमा मिति २०८० पुस १२ गते शुक्रबार अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सिना र चुडामणि भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । ०८० डब्लुओ ०५९७ नम्वरको रिट सर्वोच्च अदालतमा अझै विचाराधीन अवस्थाबाटै गुज्रिरहेको छ । सर्वोच्च अदालतमै सेटिङ हानेपछि विगत एक बर्षदेखि रिट हेर्न नभ्याउनेमा पर्दै आएको छ । अब सायद सर्वोच्च अदालतले पदावधी सकिएपछि औचित्य सकिएको भन्दै रिट नै खारेज गरिदिनेछ ।

गभर्नर महाप्रसाद अधिकारीले सो मुद्दामाथि सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा आफूले २०४५ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक तह मात्रै उत्तीर्ण गरेको स्वीकार समेत गरेका छन् । साथै गभर्नर अधिकारीले भारतबाट सन् १९८९ मे १२ मा इन्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्स अफ इण्डिया नयाँदिल्लीमा भनाई भनाई १९९३ मा चार्टर्ड एकाउन्टेन्स कोर्स पूरा गरेको उल्लेख गरेका छन् । अधिकारीले सो चार्टर्ड एकाउन्टेन्स उत्तीर्ण गरेको सर्टिफिकेटलाई त्रिभुवन विश्वविद्यालयले २०७४ साउन १९ गते समकक्षता पत्र प्रदान गरेको उल्लेख गरेका छन् ।

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने संसारभर दुई खालका पढाई हुन्छन् । एउटा विश्वविद्यालय तहको र दोस्रो शिपमूलक । चार्टर्ड एकाउन्टेन्स कोर्ष शिपमूलक कोर्ष हो विश्व विद्यालय तहको कोर्स होइन । चार्टर्ड एकाउन्टेन्स एउटा शिप मात्रै हो । सैद्धान्तिक ज्ञान कम र अभ्यास बढी हुने गर्दछ । नेपालमा यस्तो शिपमूलक शिक्षाहरु सिटिईभिटीले बार्षिक हजारौं युवाहरुलाई पढाईरहेको हुन्छ । त्यस्तै फार्मेसी, चार्टर्ड एकाउन्टेन्स सम्बन्धी कोर्षहरु पनि त्यस्तै प्रकारका कोर्ष हुन् ।

महाप्रसाद अधिकारीले भारतको प्रख्यात चार्टर्ड एकाउन्टेन्ट पढाउने संस्थाबाट सीए उत्तीर्ण गरेका हुन् । उनको सीएको शैक्षिक योग्यतामा प्रश्न होइन । उक्त सीए उत्तीर्ण गरेको सर्टिफिकेटलाई त्रिविविले सेटिङमा एउटा कागजको खोस्टो बनाईदिएछ । अनि सोही खोस्टो हल्लाउँदै पाँच बर्ष गभर्नर पद पड्काएको बिषय उनको नैतिकता, इमान र कार्यक्षमतासँग तुलना गरिएको हो ।

महाप्रसाद अधिकारीसँगै संसारको कुनै पनि विश्व विद्यालयलबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रमाणपत्र छैन । तर गैर विश्व विद्यालय कोर्ष सीएलाई त्रिविविले समकक्षता दिएको एउटा कागज थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा आर्थिक, मौद्रिक, बैंकिङ, बाणिज्य, व्यवस्थापन, तथ्याङ्क शास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधी हासिल गरेको हुनुपर्ने स्पष्ट व्यवस्था छ । अब प्रश्न उठ्छ, ‘स्नातकोत्तर तहको उपाधी’ हासिल गरेको भन्नाले विश्व विद्यालयमा भर्ना भई स्नातकोत्तर तह उत्तीर्ण गरी दीक्षित समेत भएको भन्ने स्पष्ट अर्थ लाग्दछ । महाप्रसाद अधिकारी त्रिविविको कतिऔं दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ? उनीसँग जवाफ छैन । त्यस्तै, उनीसँग स्नातकोत्तर तह उत्तीर्णको सर्टिफिकेट पनि छैन । छ त केवल समकक्षताको एउटा कागजको खोस्टो ।

देशमा कानुनी राज्य र विधिको शासन भइदिएको भए संघीय लोतान्त्रिक गणतन्त्र स्थापना भएको १८ बर्षमै राजनीतिक उदय र पतनको संघारमा पुग्ने थिएन । आज सडकमा लागेको नारा, जनतामा व्याप्त आक्रोस र जनमत हेर्दा २०७२ सालमा जारी भएको संविधान अनुसारको शासन व्यवस्थाको अभ्यासलाई बिजय बहादुर मल्लले लेखेको अन्तिम भोज शैलीमा लूट र दोहन भइरहेको छ । यस्तै दोहनका एक पात्र हुन गभर्नर महाप्रसाद अधिकारी ।

अहिले नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेन्जमा योग्यता नै नपुगेका व्यक्तिहरुले हालिमुहाली गरिरहेका छन् । यस्तो अनैतिक कार्यको अगुवा बनेका छन् महाप्रसाद अधिकारी । उनकै पालापछि सेबोन, बीमा प्राधिकरण, आयल निगम, नेप्से, बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड जस्ता सार्वजनिक निकायमा योग्यता नै नपुगेका र कार्यक्षमता नै नभएका व्यक्तिहरुको हालिमुहाली हुन पुगेको छ । यो आम विकृतिको अगुवा बनेर आजबाट महाप्रसाद अधिकारी बिदाई हुँदैछन् । आज र आगामी दिनमा महाप्रसाद र महाप्रसादकै लाइनमा अघि बढेकाहरुको विदाई हुँदै जानेछ तर उनले शुरू गरेको यो विकृति भने झन् झन् झाँगिदैछ ।

आज गभर्नर महाप्रसाद अधिकारीले भव्य विदाई पाएर जाँदैछन् । उनलाई लागिरहेको छ, सर्वोच्च अदालतमा परेको मुद्दालाई समेत पन्छाएर मैले जे गरेँ, जितेँ, सफल भएँ । उनले कैयौं बिषयहरु उठाएर राम्रो काम भन्दै प्रचार समेत गर्नेछन् । योग्यताको नाममा सर्टिफिकेट भन्दा पनि काजगको खोस्टो हल्लाएर पाँच बर्ष बिताएका महाप्रसादले जति नै राम्रो भन्दै सिंगार पटार गरेपनि लोकतन्त्रान्त्रिक शासन पद्धति, सुशासनको धज्जी उडाउँदै वर्तमान लोकतान्त्रिक शासन व्यवस्थाको पतनका लागि एउटा इट्टा थपेर जान सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*