विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन नगराएको भन्दै उच्च अदालतमा रिट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुँदा विद्यार्थीको मतदान अधिकार कुण्ठित भएको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरिएको छ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता शुभाष भण्डारीले अदालतमा रिट दायर गर्दै विश्वविद्यालय प्रशासन र निर्वाचन समितिको निर्णय विरुद्ध हस्तक्षेपकारी आदेश माग गरेका छन्।
रिट निवेदनमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को धारा २८ बमोजिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा अनिवार्य रूपमा निर्वाचन गराउनुपर्ने व्यवस्था भए पनि २०६५ सालदेखि विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको उल्लेख गरिएको छ। निर्वाचन समितिले पटक–पटक कार्यतालिका सार्वजनिक गरे पनि विभिन्न बहानामा निर्वाचन स्थगित गर्दै आएको भन्दै उनले संविधानमा प्रत्याभूत विद्यार्थीको हकको रक्षा गर्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरेका छन्।
विद्यार्थीहरूले स्ववियु निर्वाचनमार्फत आफ्नो प्रतिनिधि चयन गर्न पाउनुपर्नेमा निर्वाचन नगरिएकाले लोकतान्त्रिक प्रक्रियामै अवरोध पुगेको निवेदनमा उल्लेख छ।