बालेनलाई ओभरटेक गर्दै सुनिताले गराइन् गुरागाईलाई हाजिर

काठमाडौं । तीन महिनादेखि कार्यालय प्रवेश गर्न नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई अन्ततः कार्यालय छिर्न सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार कार्यालय जान खोज्दा नगरप्रमुख बालेन साहको निरन्तर अवरोध सामना गरिरहेका गुरागाईलाई उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका कर्मचारीहरूको साथ मिल्यो, जसका कारण उनले आफ्नो कार्यालय प्रवेश पाए ।
गुरागाई कार्यालय जान खोज्दा नगर प्रहरीले उनलाई रोक्न खोज्यो, तर डंगोलसहितको समूहले नगर प्रहरीको प्रतिरोधलाई पार गर्दै गुरागाईलाई कार्यालय पुर्यायो । कार्यालय पुग्न सफल भए पनि उनलाई कार्यकक्षमा छिर्न भने रोक लगाइयो । मेयर बालेन साहको निर्देशनमा कार्यकक्षमा ताला लगाइएको थियो, जसका कारण गुरागाई आफ्नो कार्यकक्षमा प्रवेश गर्न सकेनन् ।
यस घटनाले महानगरभित्रको प्रशासनिक द्वन्द्वलाई थप चर्काएको छ । उपप्रमुख डंगोलले मेयर साहको कदमको तीव्र आलोचना गर्दै भनिन्, ‘व्यक्तिगत मनमुटावभन्दा महानगरवासीको सेवा महत्वपूर्ण हो । प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्न नपाउँदा महानगरका सेवा ठप्प भएका छन्, जुन आम नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।’
डंगोलले सेवाग्राहीलाई असर पर्ने गरी प्रशासनिक काम अवरुद्ध पार्ने निर्णयको विरोध गरिन् । उनले मेयर साहलाई संकेत गर्दै भनिन्, ‘हामी कोठामा बसेर आदेश दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । कर्मचारीको तलब रोक्नु समाधान होइन, यो त नागरिकलाई दुःख दिनु मात्र हो ।’
यस विषयमा नगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयमा ताला लगाउनुपर्नाको कारण खुलाउन सकेनन् । उनले मेयर साहको मौखिक आदेशमा मात्र आफूहरूले यस्तो कदम चालेको बताए । महानगरका प्रवक्ता नविन मानन्धरसहित वडाध्यक्षहरूले पनि मेयर साहको निर्णयको आलोचना गरे ।
प्रशासकीय अधिकृत कार्यालय नआउँदा महानगरपालिकाका कर्मचारीहरू तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन्, जसले गर्दा उनीहरू आक्रोशित छन् । सेवाग्राहीहरूले पनि आवश्यक सेवा नपाएको गुनासो गर्दै आएका छन् ।
डंगोलले प्रशासनिक काम ठप्प पार्नु महानगरवासीको हित विपरीत हुने बताउँदै भनिन्, ‘यदि गुरागाई दोषी हुन् भने कानुनी प्रक्रिया अपनाएर कारबाही गरौँ । तर, सेवाग्राहीलाई समस्यामा पारेर हामी अघि बढ्न सक्दैनौं ।
अन्ततः वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूको दबाबपछि गुरागाई कार्यालय प्रवेश गर्न सफल भए । तर, उनको कार्यकक्ष अझै बन्द रहेको छ । अब मेयर साहको आगामी कदम के हुनेछ भन्ने चासो बढेको छ ।