नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान, पूँजीगत खर्चमा प्रश्न

२१ चैत्र २०८१, बिहीबार १५:३२

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०२३/२४ मा ३.९ प्रतिशत मात्र वृद्धि भएकोमा यसपालि सुधार आउने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

बिहीबार सार्वजनिक ‘नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उद्यमशिलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन’ प्रतिवेदनअनुसार, यो वृद्धिको मुख्य कारण आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनमा भएको वृद्धि हो। आगामी दुई वर्षमा, अर्थात् आर्थिक वर्ष २०२५/२६ र २०२६/२७ मा, नेपालको अर्थतन्त्र वार्षिक औसत ५.४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। यसमा सेवा क्षेत्रको विशेष भूमिका रहने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनका अनुसार नेपालले पर्याप्त रोजगारी सिर्जना गर्न निजी क्षेत्रको अगुवाइमा आर्थिक वृद्धि बढाउनु अपरिहार्य छ। उनले नेपालले आफ्नो आर्थिक उत्थानलाई बलियो बनाउन संरचनागत सुधारहरू तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।

नेपालको आर्थिक वृद्धिमा विभिन्न चुनौतीहरू पनि रहेको प्रतिवेदनमा उल्लेख छ। भू-राजनीतिक अस्थिरता, व्यापारसम्बन्धी अनिश्चितता, ऋणको गुणस्तर कमजोर हुनु, सरकारी कर्मचारीहरूको बारम्बार सरुवा तथा पूँजीगत बजेट कार्यान्वयनमा ढिलाइजस्ता समस्याले आर्थिक वृद्धिलाई असर गर्न सक्ने बताइएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक शिवराज अधिकारीका अनुसार नेपालले १६औं योजनाका लक्ष्यहरू पूरा गर्न प्रभावकारी पूँजीगत खर्च र विकास परियोजनाहरू समयमा सम्पन्न गर्नुपर्ने आवश्यकता छ। नेपाल विकास प्रतिवेदनले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे महत्वपूर्ण जानकारी प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*