बजारमा हरियालीको निरन्तरताः कारोबारमा देखियो रौनक, कस्तो होला आगामी लय ?

काठमाडौँ । लगातार दुई दिनको हरियालीले शेयर बजारमा उत्साह छाएको छ । नेप्से परिसूचक सुधारोन्मुख देखिँदा लगानीकर्तामा पुनः आशा जागेको छ । लामो समयदेखि जारी घटाउ क्रमले बजारमा निराशा छाए पनि पछिल्ला दिनमा पुनरुत्थानका संकेत देखिएका छन् । बैंक ब्याजदर ऐतिहासिक रूपमा न्यून विन्दुमा झरेको, तरलता पर्याप्त रहेको तथा नियामक निकायहरूले बजार सुधारको संकेत दिएका कारण नेप्से सकारात्मक दिशामा अघि बढ्न थालेको छ ।
बजारमा सुधार आउनुका पछाडि केही प्रमुख कारणहरू छन् । लामो समयसम्म गिरावट बेहोरेका कम्पनीहरूको सेयर मूल्य अहिले निकै आकर्षक रहेको छ, जसले नयाँ लगानीकर्तालाई आकर्षित गरेको छ । साथै, बलियो वित्तीय सूचक भएका कम्पनीहरूमा लगानी गर्दा जोखिम कम हुँदै भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने सम्भावना रहन्छ । बैंकहरूले पनि सेयर धितो कर्जालाई प्राथमिकता दिएकाले बजारमा नयाँ लगानीको प्रवाह बढेको देखिन्छ ।
यद्यपि, बजार कहिलेकाहीँ करेक्सन आउने प्राकृतिक नियम हो । तर, समग्र प्रवृत्ति सकारात्मक देखिएको जानकारहरू बताउँछन् । बैंक ब्याजदर, तरलता, अर्थतन्त्रको अवस्था, सरकार तथा नियामक निकायहरूको नीति— यी सबै तत्वले बजारको भावी दिशा तय गर्नेछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८१ अकंले बढेर २७०२.८६ बिन्दुुमा कायम भएको छ। आज ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन बैंकिङ समूहको १.१० प्रतिशत, निर्जीवन बीमा समूहको ०.६४ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यता, ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ ।