आधा दर्जन जहाज आकाशमा नै फन्को मार्दै

काठमाडौँ । बिहीबार बिहानैदेखि बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। मौसममा देखिएको खराबीका कारण भिजिबिलिटी कम भएसँगै उडान र अवतरणमा कठिनाइ देखिएको छ।
विमानस्थल प्रशासनका अनुसार हाल ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल’ (आईएफआर) प्रणाली प्रयोग गरी जहाजहरूको सञ्चालन भइरहेको छ। दृश्यता कमजोर भएकाले उडान तालिकामा असर परेको छ भने विमानहरूको व्यवस्थापनमा ढिलाइ भइरहेको छ।
बिहान तय भएका धेरै उडान प्रभावित भइसकेका छन्। हाल कतिपय विमानहरू आकासमा परिक्रमा गरी अनुकूल अवस्था कुरेर मात्र अवतरण गरिरहेका छन्। काठमाडौं हाल वायु प्रदूषणका हिसाबले विश्वका प्रमुख शहरहरूमध्ये अत्यधिक प्रदूषित शहरको सूचीमा पर्न पुगेको छ, जसले हवाई यातायातमा थप चुनौती सिर्जना गरेको छ।
अहिले आकाशमा आधा दर्जन जहाज फन्को मारी रहेका छन् ।