फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा

काठमाडौँ । नेपाली अटो बजारमा फोर्ड र काई ब्रान्डका गाडी बिक्रीमा समस्या उत्पन्न भएको तथ्याङ्कले पुष्टि गरेको छ । कम्पनीका गाडीहरूको गुणस्तर कमजोर हुँदा र दुर्घटनाका घटनाहरू बढ्दै जानाले उपभोक्ताले यी गाडीहरूको खरिद गर्नबाट हिच्किचाउने गरेको देखिन्छ । पछिल्लो समय फोर्ड र काईका गाडीहरूमा गुणस्तरका समस्याहरू देखा परेका छन् । गाडीका इन्जिन, निर्माण दोष र सुरक्षा सुविधामा कमजोरीका कारण दुर्घटनाका घटनाहरू बढेका छन् । खासगरी, गाडीका सेफ्टी फिचरहरू एबीएस, एयरबैग्स र ब्रेक प्रणालीले अपेक्षित काम नगरेकोले दुर्घटनाहरूको सम्भावना उच्च भएको देखिएको छ । यस्ता समस्याले उपभोक्तामा असन्तुष्टि र चिन्ता पैदा गरेका छन्, जसले गर्दा उनीहरू फोर्ड र काईको गाडी किन्ने इच्छा घटाएका छन् ।
दुर्घटनाका घटनाहरूले पनि यी ब्रान्डको खराब छवि बनाउनमा ठूलो भूमिका खेलेको छ । उदाहरणको लागि हालै काठमाडौँको धोबिखोलामा एउटा फोर्ड गाडी दुर्घटनाग्रस्त भएको छ । उक्त घटनामा सवारी चालकले गाडीको निर्माणमा केही समस्या र गाडीको कामकाजी अवस्थामा कमी भएको कुरा जनाएका थिए । यस घटनापछि, गाडीको सुरक्षितता र गुणस्तरमा प्रश्न उठ्न थालेको छ । गत वर्ष मातातिर्थको उकालोमा गाडी ब्याक हटेर दुर्घटनाग्रस्त भएको थियो, जसमा एक डाक्टर परिवार शोकमा परेको थियो । यसले गाडीको सुरक्षितता र गुणस्तरमा सुधारको आवश्यकता थप महसुस गराएको छ ।
फोर्ड र काईले गुणस्तरको सामना गर्दै आइरहेको हुँदा कम्पनीका गाडी बिक्री वितरण गर्ने नेपालको आधिकारीक बिक्रेता जी.ओ. अटोमोबाइल्स प्राइभेट लिमिटेडको व्यापार समेत खस्किएको छ । कम्पनीको वार्षिक कारोबार आयमा भारी गिरावट आएको छ । सन् २०२० मा २ अर्ब ६७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको जिओले सन् २०२४ मा ८३ करोड ७० लाख रुपैयाँमा झरेको छ । सन् २०२३ मा ८२ करोड ९० लाख, सन् २०२२ मा १ अर्ब ६५ करोड २० लाख र सन् २०२१ मा ३ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । जसले कम्पनीको आय निरन्तर ओरालो लागि रहेको देखिएको छ ।
कम्पनीको ओपरेटिंग मुनाफा अनुपात पनि निराशाजनक छ । सन् २०२० मा ६.४ प्रतिशत रहेको यो अनुपात सन् २०२४ मा –५.१ प्रतिशतमा पुगेर नकरात्मक भएको छ । यो गिरावट कम्पनीको सञ्चालनमा थप दबाब रहेको देखिएको छ । कम्पनीको कुल ऋण र नेट वर्थ अनुपात भने राम्रो रहेको छ, ०.३ को स्थिर स्तरमा छ ।
यता, कुल ऋण÷ओपरेटिंग मुनाफा अनुपात लगातार नकरात्मक दिशामा रहेको छ । सन् २०२४ मा यो –५.३ को अनुपातमा पुगेको छ । सन् २०२४ मा ब्याज भुक्तानी अनुपात –१.३ को नकरात्मक स्तरमा पुगेको छ ।
ऋण सेवा कवरेज अनुपात सन् २०२४ मा २.० रहेको छ, जसले कम्पनीको ऋण पुनर्भरणको लागि पर्याप्त नगद प्रवाहको संकेत गरेको छ । सन् २०२४ मा कम्पनीको नेट कार्यशील पूंजी अनुपात ८९ प्रतिशत रहेको छ, जुन अत्यधिक उच्च स्तरमा पुगेको छ ।
जी.ओ. अटोमोबाइल्स कम्पनीको दीर्घकालीन ऋण सीमा १४ करोड रुपैयाँ कायम रहँदा यसका लागि आईसीआरएएनपी एलबीबी रेटिङ पुनः प्रदान गरिएको छ । यस्तै, अल्पकालीन ऋण सीमा ९२ करोड रुपैयाँबाट घटाएर ५७ करोड रुपैयाँ पु¥याइएपछि पनि यसका लागि आईसीआरएएनपी ए चार रेटिङ पुनः पुष्टि गरिएको हो ।
गुणस्तर समस्याका साथसाथै फोर्डको ईभी छैन । ईभीमा ग्राहक कन्भर्ट भइरहेका छन् । फोर्डका गाडी मूल्यका हिसाबले पनि उच्च र नयाँ ब्रान्डले बजार लिइराख्दा पुराना ब्रान्डलाई सकस परेको छ । भारतमा फोर्डको प्लान्ट बन्द भएसँगै यो गाडीको मार्केट नेपाली बजारमा धारासायी हुँदै गएको छ । भारतीय उत्पादन केन्द्र बन्द भएसँगै कम्पनीको उत्पादन केन्द्रित भई प्रवेश–देखि–मध्य–स्तरका मोडेलहरू (जस्तै फिगो र इकोस्पोर्ट) सट्टा रेन्जर र एभरस्ट जस्ता विशेष/उच्च–मूल्यका मोडेलहरूमा केन्द्रित हुन पुगेको छ, जसका कारण ठूलो बजार खण्डमा यसको प्रभाव कम भएको छ ।
कम्पनीलाई गोल्छा परिवारका तीन जना प्रवद्र्धकहरूले स्थापना गरेका हुन् । जसमा ७१ प्रतिशत स्वामित्व आकाश गोल्छाको रहेको छ । उनी कम्पनीका प्रबन्ध निर्देशक समेत हुन् । नेपालमा कम्पनीका पाँच क्षेत्रीय डिलर शोरूमहरू र दुईवटा आफ्नै शोरूम/बिक्रि केन्द्रहरू रहेका छन् ।