नेपाल पुनर्बीमाको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अहिले सार्वजनिक गरेको छ। अन्य कम्पनीहरूले भने चालू आवको दोस्रो वित्तीय विवरण समेत सार्वजनिक गरिसकेका छन्।
यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको तुलनामा २७.४१ प्रतिशतले घटेको हो। अघिल्लो आवमा कम्पनीले १ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आवमा १२ रुपैयाँ १७ पैसा रहेकोमा गत आवमा घटेर ८ रुपैयाँ ४३ पैसा कायम भएको छ।
गत आवमा कम्पनीले ९ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो। गत आवमा कम्पनीको कुल आम्दानी पनि १२ अर्ब ३० करोड रुपैयाँबाट घटेर ११ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ४० करोड रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड र रिटेन्ड अर्निङमा ५२ करोड रुपैयाँ रहेको छ।
गत आवमा कम्पनीको बीमा कोषको आकार ७ अर्ब २४ करोड रुपैयाँबाट बढेर ९ अर्ब रुपैयाँमाथि पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।