बाणिज्य विभागद्वारा एमजी ब्रान्डका गाडी बिक्रीमा रोक

काठमाडौँ । नेपालमा एमजी ब्रान्डका गाडीको बिक्री वितरणमा रोक लगाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्टलाई बिक्री रोक्ने निर्णय गरेको हो।
विभागले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य लिएको भन्दै कारबाही अघि बढाएको जनाएको छ। स्रोतका अनुसार कम्पनीले बजार मूल्यभन्दा अत्यधिक उच्च दर तोकेर उपभोक्तालाई उचित जानकारी नदिई गाडी बिक्री गरिरहेको पाइएको छ।
चैत २० गते बुधबारको अनुगमनका क्रममा विभागले एमजी गाडीको मूल्य निर्धारणमा अनियमितता भएको निष्कर्ष निकालेको थियो। उपभोक्ता संरक्षण ऐन, २०७४ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को प्रावधानअनुसार कम्पनीलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले उपभोक्ताको हकहित संरक्षण गर्दै बजारमा देखिएका यस्ता अनियमिततामा कडाइका साथ अनुगमन जारी राख्ने बताएको छ।