आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै जोशिले दायर गरे उच्च अदालत पाटनमा रिट

२० चैत्र २०८१, बुधबार २०:०९

काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी विनोद राज जोशीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय, क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र निर्वाचन अनुगमन तथा समन्वय कार्यसमितिलाई विपक्षी बनाउँदै परमादेश लगायत आवश्यक आदेश माग गरेका हुन् ।

जोशीले नेपालको संविधानको धारा ४६, १४४ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ८ (१) बमोजिम रिट दायर गर्दै स्ववियु निर्वाचन तत्काल गराउन अन्तरिम आदेश माग गरेका छन्। उनका अनुसार हरेक दुई वर्षमा त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने भए पनि आरआर क्याम्पसमा पटक–पटक तालाबन्दी र अन्य कारण देखाएर निर्वाचन अवरुद्ध पारिएको छ।

उनले निवेदनमा क्याम्पस प्रशासनलाई पटक–पटक निर्वाचन गराउन अनुरोध गरिए पनि मतदान हुन नसकेको उल्लेख गरेका छन्। चैत्र ५ गतेका लागि तय भएको निर्वाचन अघिल्लो राति क्याम्पसमा भएको तालाबन्दीका कारण स्थगित भएको थियो। त्यसपछि सर्वपक्षीय बैठकले चैत्र १६ गतेलाई नयाँ मिति तोके पनि सो दिन निर्वाचन सम्पन्न हुन सकेन।

रिट निवेदनमा उल्लेख भएअनुसार, त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम ३४८ बमोजिम निर्धारित समयसीमाभित्र निर्वाचन सम्पन्न गरिनुपर्ने भए पनि क्याम्पस प्रशासनले विद्यार्थी संगठनको असहमति देखाएर निर्वाचन नै अनिश्चित बनाएको आरोप छ। जोशीले अदालतसमक्ष स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल सम्पन्न गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

जोशि आरआर क्याम्पसको स्ववियु सभापतिका लागि नेविसंघका उम्मेदवार हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*