लयमा फर्कियो बजारः परिसूचक समेत बढ्यो, यसरी लिँदैछ मार्केटले बुलको यात्रा

काठमाडौं । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार बुधबार सुधारिएको छ । अघिल्लो दिनको गिरावटपछि पुनः बजार सकारात्मक दिशामा अघि बढेको देखिएको छ । पछिल्ला केही दिनमा नेप्सेमा अस्थिरता देखिए पनि समग्र बजार पुनः आफ्नो लय समात्ने संकेत देखिएको छ ।
बजार विश्लेषकहरूका अनुसार शेयर मूल्यमा भएको निरन्तर गिरावटपछि लगानीकर्ताले उत्कृष्ट वित्तीय सूचक भएका कम्पनीहरूमा लगानी गर्न थालेका छन् । विशेष गरी लाभांश दिन सक्ने क्षमतायुक्त कम्पनीहरूको शेयर मूल्य आकर्षक बिन्दुमा आएकाले लगानीकर्ताका लागि यो अवसर बनेको छ । साथै, मजबूत आर्थिक सूचक भएका कम्पनीहरूको सेयर धितो राखेर कर्जा प्राप्त गर्न सहज भएकाले पनि बजारमा लगानीकर्ताको चासो बढ्दै गएको छ।
हाल बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको, बेस रेट तथा ब्याजदर घट्दो क्रममा रहेको अवस्थाले सेयर बजारलाई सहयोग पु¥याइरहेको छ । बैंकहरू अन्य क्षेत्रको तुलनामा सेयर धितो कर्जालाई प्राथमिकता दिइरहेका छन्, जसका कारण शेयर बजारमा तरलता सहज भइरहेको छ। समग्र रूपमा बजार बुल रनको संकेतमा रहे पनि समय–समयमा आउने करेक्सनलाई स्वाभाविक रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.३१ अकंले बढेर २७०१.४८ बिन्दुमा कायम भएको छ। आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, फाइनान्स समूहको ३.२६ प्रतिशत, होटल तथा पर्यटन समहको ०.५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।