सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत

काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत भएको छ । उनीविरुद्ध नवलपरासीपूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । सांसद बस्नेतको अनुपस्थितिलाई बिदा मान्दै मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।
सांसद बस्नेत उपचारमा रहेका कारण निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहेको भन्दै संसद् सचिवालयलाई सूचना दिएकी थिइन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उक्त सूचना प्रस्तुत गरेका थिए । सांसद बस्नेत संसद्को हिउँदै अधिवेशनभर उपस्थित भएकी थिइनन् । तर सांसदको हैसियतले आफू अनुपस्थित सबै बैठकको तलब भत्तासमेत बुझेकी छन् ।
संसद् सचिवालयका अनुसार बस्नेत २०८१ माघ १८ गतेदेखि संसद्मा देखिएकी छैनन् ।